aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जापानीज कम्पनीलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जापानीज कम्पनीलाई

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला (४.५१ किमि) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ ।

सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

‘सहभागीमध्ये हाज्माको ठेक्का रकम कम देखियो । त्यसमा पनि ७० करोड रुपैयाँ ऊ घटाउन राजी भयो,’ उनले भने, ‘सुरुङमार्ग निर्माणको ठेक्का उसैलाई दिने निर्णय भएको छ ।’

महाशाखाका अनुसार असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्नेछन् । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा हुनुपर्नेछ । कम्पनीले आगामी हिउँदबाटै काम सुरु गर्नेछ । यसअघि हाज्माले कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ ।

‘हाज्माको रेपुटेसन राम्रो छ । यसले लिएको सबै काम समयमा नै सकिएको छ,’ थापा भन्छन्, ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पनि निर्धारित समयमा नै सकिन्छ ।’

महाशाखाका अनुसार सुरुङमार्गको कुल लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माणमा लाग्ने सबै रकम जापानी सहयोग नियोग जाइकाको सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने ।०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्नेछ । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस