
काठमाडौं । सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तु आयातमा कडाइ गर्न थालेको छ । आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च अवस्थामा पुगेपछि सरकारले विलासी वस्तु आयातमा कडाइ गरेको हो । घाटा कम गर्न सरकारले महँगा सवारी, टेलिभिजन, मोबाइल, सुन, चाँदी, हिरा, बिस्कुट, चाउचाउलगायत ड्राइफुडमा कर बढाएको छ ।
घाटा न्यूनिकरणका लागि सरकारले व्यापार घाटासम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले स्वदेशी उद्योगबाट उत्पादित सामग्रीको प्रयोगलाई जोड दिइएको छ ।
कार्ययोजना अनुसार अर्थ मन्त्रालयले ६ महिनाभित्र टेलिभिजन, मोबाइल, तयारी फर्निचर, बिस्कुट, चाउचाउ आयातमा भन्सार, अन्तःशुल्क दर पुनरावलोकन गर्नेछ । सुनचाँदीका गरगहना निर्यातको लागि भन्सारमा १ वर्षभित्र लकर सुविधा उपलब्ध गराउने कार्ययोजनामा उल्लेख छ ।
यस्तै इन्धनबाट सञ्चालन हुने सवारीलाई निरुत्साही गराई इलेक्ट्रिक सवारीमा सुविधा प्रदान गर्ने अर्थको तयारी छ । सरकारले कार्ययोजना भएका कतिपय विषयलाई आर्थिक ऐनबाट सम्बोधन गरेर कार्यान्वयनसमेत गरिसकेको छ । कार्ययोजना अनुसार विदेशबाट आउने डिस्ट्रिब्यूसन, ट्रान्सफर्मर, तार, आयातमा कर बृद्धि गरी आयातमा निरुत्साहित गरिने भएको छ ।
आयातित प्रशोधित पानी र मिनरल वाटर, जुस, कार्वोनेट तथा फ्लेभर सिन्थेटिक पेय पदार्थ र इनर्जी प्रदायक पेय पदार्थको अन्तःशुल्क दर पुनरावलोकन ६ महिनाभित्र गर्नपर्ने भनिएको छ । स्वदेशमै उत्पादन हुने विस्कुट, चाउचाउ र ड्राइफूडलगायत वस्तुको आयात निरुत्साहित हुने कर प्रणाली अवलम्बन गर्न पनि भनिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस