
एजेन्सी । भारतीय राज्य गुजरातमा समुन्द्री आँधी आउने चेतावनी दिईएको छ । अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको छ । सो आँधी गुजरातको तटसँग ठोक्किने छ।
‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ। गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा यतिबेला भारी वर्षा र तीब्र हावाको प्रकोप देखिएको छ।
उक्त चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ। सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ। पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
त्यसैगरी रेल सेवालाई पनि बन्द गरिएको छ। पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । १० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको छ । सबैलाई चनाखो भएर बस्न राज्य सरकारले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस