aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् । उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन् । 

हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । 

उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन् । उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिएका छन् । ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् । 

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् । बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक हुनुहुन्थ्यो । उहाँको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन ।

निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उहाँप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए । उनले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गरेका थिए । राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस