
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा यहि मंसिर ११ देखि १३ गते सम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि अध्यक्ष बन्दैछन् भने वरिष्ठ उपाध्यक्षको लागि दुई प्यानल खडा भएका छन् । हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्रप्रसाद ढकालको बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
सफल उद्यमी तथा बजारमा बोलवाला ढकाल र अनुभवले खारिएका प्रधानबीचको प्रतिस्पर्धालाई महासंघका पूर्व अध्यक्षहरूले सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् । यद्यपि सहमति खोज्नु भने व्यर्थ जस्तै भएको छ । महासंघको साधारणसभा तथा निर्वाचनको मिति नजिकिदै जाँदा सहमतिका लागि पूर्व अध्यक्षहरूले गरेका प्रयास निरर्थक बन्ने देखिएको हो ।
सहमतिका लागि प्रधान प्यानल वार्तामा बस्न तयार भएपनि ढकाल प्यानल वरिष्ठ उपाध्यक्षको पद आफूले पाउने भए मात्र सहमति हुने अडानमा छ । एकपक्षको यस्तो ढिपीका कारण पूर्व अध्यक्षहरूलाई दुई पक्षलाई मिलाउन गाह्रो भएको छ । एउटा पक्ष छलफलमै बस्न चाहँदैन भने अर्को पक्षमात्र बसेर सहमति हुन सक्दैन । वार्ता सफल हुनको लागि दुबै पक्ष वार्ता र छलफलमा बस्नुपर्छ, त्यो वातावरण अहिलेसम्म बन्न सकेको छैन । चुनावको मिति नजिकिसकेको छ । छलफलमा नबसेसम्म सहमति हुन नसक्ने महासंघ एक पूर्व अध्यक्षले बताए ।
‘प्रधानको महासंघमा योगदान धेरै छ र आगामी अध्यक्षको समेत समर्थन छ । प्रधान प्यानललाई पूर्व अध्यक्ष पशुपति मुरारका, कुशकुमार जोशीको साथ र सहयोग छ, उनले भने ‘ढकाल महासंघमा पसेको ९ वर्षमात्रै भयो ।’ सहमतिका लागि वरिष्ठता र अनुभवको आधारमा प्रधानलाई वरिष्ठ उपाध्यक्ष दिनुपर्ने भएकोले पनि ढकाल पक्ष वार्तामा बस्न नचाहेको ती पूर्व अध्यक्षले आर्थिकन्यूज डककमलाई बताए ।
‘एउटा पक्षमात्र बसेर हुँदैन, यसका लागि दुबै पक्ष बस्नुपर्छ,’ उनले भने ‘माथिल्लो तहमा सहमति जुट्न सके त्योभन्दा तल्लो तहमा सहमति मिलाउन गाह्रो हुँदैन ।’ दुबै प्यानललाई सहमतिमा ल्याउनका लागि महासंघका अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरू रवि भक्त श्रेष्ठलगायतका टिम लागि परेपनि उनीहरूले सहमति गराउन नसक्ने देखिएको हो । त्यसैले अब महासंघ चुनावमा वरिष्ठ उपाध्यक्षका लागि सहमति खोज्ने समय घट्किसकेको छ । अब यसमा समर्थन खोज्नेतर्फ पूर्व अध्यक्षहरू समय खर्च नगरे हुन्छ । किनकी अहिले महासंघ चुनावको संघारमा छ ।
दुबै पक्षबाट आफ्नो प्यानललाई जिताउन प्रशस्तै पैसा समेत खर्च भइसकेको अवस्था रहेकोले पनि वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा छाड्न चाहादैनन् । लोकतान्त्रिक मुलुकको अभ्यासलाई आत्मसाथ गर्दै अब चुनाव नै हुन दिनु राम्रो हुने अर्का पूर्व अध्यक्षले बताए ।
प्रतिक्रिया दिनुहोस