aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नेपालमा रेल चलाउन भारतमा संयुक्त कार्यदलबीच छलफल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०६ मंसिर २०७७
नेपालमा रेल चलाउन भारतमा संयुक्त कार्यदलबीच छलफल

काठमाडौं । जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ ।
कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसडीपी) का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ ।

कार्यविधिबारे भारतले प्रस्ताव गरेको विषयमा नेपालले केही परिमार्जनको प्रस्ताव राखेको उनले जानकारी दिए । बैठकले जयनगर–विजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अगाडि बढिरहेको सीमापार रेलमार्ग परियोजनाको समीक्षाका साथै यात्रुबाहक रेल सेवा सञ्चालन गर्न भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षद्वारा छलफल गरिएको सचिव श्रेष्ठले बताए । उक्त रेलमार्ग सञ्चालन गर्न असोज २ गते भारतबाट खरिद गरिएका दुईवटा डेमो रेल अहिले धनुषाको इनरुवा स्टेसनमा पार्किङ गरिएका छन् ।

त्यसैगरी बैठकमा भारतको जोगवनी र नेपालको विराटनगर बीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्न तीव्र रूपमा काम अगाडि बढाउन दुवै पक्षले सहमति जनाएका थिए । तीन अर्ब ७४ करोड भारतीय रुपियाँ अनुदान सहयोग अन्तर्गत सो अन्तरदेशीय परियोजनाको निर्माण भइरहेको बैठकपछि नेपाल र भारतद्वारा जारी संयुक्त पे्रस विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस