
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचानमा ‘म्याच फिक्सिङ’ हुने देखिएको छ । अहिलेसम्म देखिएको बजार सिनारियोले महासंघका आम मतदाताले वरिष्ठ उपाध्यक्षमा बैंकर उद्यमी चन्द्रप्रसाद ढकाललाई विजय गराउने तयारी गरेका छन् भने उपाध्यक्षमा दिनेश श्रेष्ठ, सौरभ ज्योति र अन्जनराज श्रेष्ठलाई चयन गर्ने बुझिएको हो ।
यस अघि महासंघका पूर्व अध्यक्षहरूले कोरोना महामारीका बेला चुनावी प्रक्रियामा जानुभन्दा सहमति गरेर जाँदा हित हुने बताउँदै सहमति खोजेपनि सो हुन नसक्ने देखिएपछि पछिल्लो समयमा म्याच फिक्सिङको सिनारियो देखिएको हो । चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरू कुटनीतिक ढंगबाट अगाडि बढी रहेका छन् । उनीहरूले ‘प्यानल त छँदैछ, हामीले हाम्रो पक्षबाट पनि केही पहल गर्नुपर्ने हुन्छ,’ उपाध्यक्षका एक उम्मेदवारले भने ‘ मैले व्यक्तिगत रुपमा पनि साथीहरूसँग भेटघाट गरिरहेको छु ।’
निजी उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने ५४ औं साधारणसभामा वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधानको प्यानलमा बजारले चिने, जानेका र व्यवसायिक क्षेत्रमा भिजेका उपाध्यक्षहरूको उम्मेदवारी रहेको छ भने ढकाल प्यानल उम्मेदवार चयनको मामलामा चुकेको छ ।
व्यवसायिक र सरकारी बलमा उभिएका ढकाल प्यानलमा जिल्लारनगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट्स उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार रहेका छन् ।
महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले समेत साथ रहेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट्स उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार रहेका छन् ।
उद्यम व्यवसायको यात्रामा जति प्रधान प्यानलको उपाध्यक्षहरू स्थापित छन् ढकाल प्यानलका उपाध्यक्षहरू त्यति छैनन् । वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ यो क्षेत्रमा भिजेपनि उनको प्रभावकारिता र क्षमता पनि सबैले स्पष्ट देखेका भएकाले महासंघको यो चुनावमा म्याच फिक्सिङको सम्भावना बढेको हो ।
यसरी बन्छ महासंघको कार्य समिति
महासंघको आगामी नेतृत्वमा हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने अन्य ६४ पदका लागि निर्वाचन हुनेछ । जसमध्ये एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर, वस्तुगत तथा एशोसिएट्स समूहबाट १÷१ जना समेत गरी कुल ३ जना विषयगत उपाध्यक्षहरू र बाँकी ६० जना कार्यसमिति सदस्यका रहनेछन् ।
६० जना कार्यसमिति सदस्यहरूमध्ये जिल्ला÷नगर तर्फबाट १८ जना, वस्तुगत संघ समूहबाट १४ जना, एशोसिएट्स समूहबाट १९ जना, द्विराष्ट्रिय संघका तर्फबाट १ जना, संस्थापक सदस्यहरूबाट १ जना महासंघ कार्यसमितिमा रहने छन् ।
प्रत्येक प्रदेशको तर्फबाट कार्यसमितिमा प्रतिनिधित्व गर्ने १/१ जना समेत गरी कुल ७ जना रहनेछन् । यी पदहरुका लागि कुल १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेश १ र द्विराष्ट्रिय समूहबाट प्रतिनिधित्व गर्ने १÷१ जना समेत गरी २ कार्यसमिति सदस्यका लागि एकजनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।
महासंघ निर्वाचन समितिको तथ्यांक अनुसार हाल महासंघमा १ सय ७ वटा उद्योग वाणिज्य संघ, १०१ वटा वस्तुगत संघ, ९ सय २३ जना एशोसिएट्स सदस्य तथा संस्थापक तथा द्विराष्ट्रिय संघका तर्फबाट १२/१२ जना समेत गरी कुल २४ वटा संस्थाका प्रतिनिधिको मताधिकार निश्चित भएको छ । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको निर्वाचन प्रयोजनका लागि द्विराष्ट्रिय संघका सदस्यहरुलाई एशोसिएट्स समूह तथा संस्थापक सदस्यलाई जिल्ला, नगर समूहमा अन्तर्गत राख्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस