
काठमाडौं । काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा.महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका हुन् ।
कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको बैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको बताए ।
‘लकडाउनको सुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन मोवाइल स्वाब कलेक्सन बुथ सञ्चालन गर्न खोजिएको भएपनि त्यो अवसर आज जुटेको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘ कोभिड १९ संक्रमणको दर घटाउने, अत्यावश्यक पर्नेलाई सुविधा बढाउने महानगरको योजना हो ।’
महानगरपालिकासँग उपलब्ध सीमित जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइएको बताउँदै उहाँले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोवाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरुवात गरिएको उनको भनाइ छ । ‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर त्यस्ता व्यक्तिका लागि बढी प्रभावकारी हुनेछ,’ मेयर शाक्यले भने ।
त्यस्ता व्यक्तिको स्वाब संकलनमा विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाइनेछ । शाक्यले भन्नुभयो, कोरोनालाई कमजोर ठानेर लापर्वाह नगर्न सुझाव दिनुभयो । ‘सरकारको तर्फबाट हामी लागिरहेका छौँ । स्थानीय व्यक्ति र समूदाय पनि हातेमालो गरेर अघि नबढ्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्न ।
सरकारले गरिहाल्छ भनेर सर्वसाधारणले हेलचेक्¥याईँ गर्ने हो भने महामारी नियन्त्रण भन्दा बाहिर जानसक्छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेका नागरिक र कन्ट््याक्ट टे«सिङ्मा परेका शंकास्पद व्यक्तिलाई निशुल्क परीक्षण गर्न महानगरपालिका तयार छ । लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउने हाम्रो अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफै परिक्षण गर्न पनि अनुरोध छ ।’
त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नास्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । यो भ्यान सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सञ्चालन गर्नेछ ।
‘प्रबिधिमा आधारित यो प्रणालीबाट सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्नेछ भन्दै प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो अनुसन्धान र विकासका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो । ‘सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्बाव लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ ।’
भ्यानको बिशेषता बताउँदै नास्टका बरिष्ठ प्राबिधिक अधिकृत डा. शंकर ढकालले भने ‘यसमा जसको स्वाब लिइएको छ । उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ । स्वास्थ्यकर्मीलाई पीपीई लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो । यस अघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेका छौं ।’
यो वुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो । यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको हो ।
सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलिबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ । आज सभा गृहबाटै प्रशासन विभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत अधिकारीहरुको स्वाब संकलन गरियो ।
प्रतिक्रिया दिनुहोस