aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महासंघ निर्वाचनः 'प्रतिस्पर्धी होउन् त अञ्जन र उमेशजस्ता !'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
महासंघ निर्वाचनः 'प्रतिस्पर्धी होउन् त अञ्जन र उमेशजस्ता !'

काठमाडौं । निर्वाचन मिति नजिकिँदै जाँदा यतिखेर नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्दै गएको छ । प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएका चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा छ । प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिस्पर्धीहरुबीच एक अर्कालाई होच्याउने र निर्मम ढंगले आलोचनामा उत्रिने प्रवृत्ति समेत देखिँदै गएको छ । 

महासंघ जस्तो व्यवसायिक संस्थामा राजनीतिक दलको जस्तो चुनावी प्रतिस्पर्धाको अपेक्षा गरिँदैन । उम्मेदवारहरुले पनि यो प्यानल चुनावी नतिजा नआएसम्मको लागि भएको बताइरहेका छन् । तर पनि प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले आफ्नो प्रतिस्पर्धीप्रति घोचपेच गर्ने क्रम रोकिएको छैन । ढकाल पक्षले प्रधानलाई व्यवसायिक क्षेत्रको स्टेकहोल्डरको रुपमा स्वीकार गरेको छैन । किशोर प्रधान पक्षले चन्द्र ढकाललाई महासंघमा अनुभव नभएको पात्रको रुपमा व्याख्या गर्दै आएको छ । एकले अर्कोलाई आलोचना गर्दै जाँदा सामान्य चुनावी प्रतिस्पर्धा शत्रुतापूर्ण सम्बन्धमा परिणत हुने खतरा पनि देखिएको छ ।

तर महासंघभित्रै यस्ता प्रतिस्पर्धी पनि छन् जो प्रतिस्पर्धीलाई नराम्रो देखाएर आफू राम्रो बन्न खोज्ने प्रयास नै गर्दैनन्, बरु आलोचनात्मक हिसाबले सोधिने प्रश्नहरुलाई सीधै खारेज गरिदिन्छन् । ती हुन् वस्तुगत उपाध्यक्षका उम्मेदवारहरु अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ । आफ्नो प्रतिस्पर्धीसँग आफूलाई कसरी तुलना गर्नुहुन्छ ? अन्तवार्ताका क्रममा आर्थिकन्यूजको प्रश्नमा प्रधान प्यानलबाट उम्मेदवार बनेका अञ्जन श्रेष्ठ भन्छन्, 'म प्रतिस्पर्धीको कुरा गर्दिन, मेरो मात्र कुरा गर्छु ।'

उता उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धी अञ्जनप्रति कुनै आरोप प्रत्यारोप गर्ने गरेका छैनन् । मतदाताहरुसँग भेट्दा र मिडियासँग बोल्दा पनि उनी प्रतिस्पर्धीप्रति निकै उदार रुपमा प्रस्तुत हुने गरेका छन् । आफैँ एजेण्डका  विषयमा केन्द्रित रहेर  चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

त्यसो त, महासंघभित्र सबैभन्दा बढी प्रतिस्पर्धा उनीहरु दुईबीच नै छ । अघिल्लो कार्यकालमै प्रत्यक्ष रुपमा चुनाव जितेका उमेशलाल श्रेष्ठलाई सोही पदमा फेरि लडेर पनि हार्नु कम शर्मनाक हुने छैन । उता, महासंघभित्र विभिन्न समितिमा रहेर लामो योगदान गरेका र नाडा अटोमोबाइल्स महासंघ जस्तो संस्थामा अध्यक्ष भइसकेका अञ्जन श्रेष्ठलाई पनि सम्भावित हारले महासंघभित्रको राजनीतिक करियरलाई ठूलै असर गर्नेछ । त्यसैले यी दुवै उम्मेदवार जित्नैपर्ने बाध्यतामा छन् जुन सम्भव छैन ।

तर, वस्तुगततर्फका यी दुबै उम्मेदवार व्यवसायिक मर्यादा र अनुशासनका विषयमा सजग छन् । र कुनै कार्यक्रमलाई सम्बोधन गर्दा होस् अर्थात् कुनै मिडियालाई अन्तर्वाता दिँदा होस्, उनीहरूले प्रतिस्पर्धीको विरोध गरेका छैनन् । महासंघको चुनावी माहोललाई नजिकबाट नियालेका एकजना व्यवसायी भन्छन्, ‘महासंघको गरिमा स्वस्थ प्रतिस्पर्धाले मात्रै कायम गर्न सक्छ, जसमा अञ्जन र उमेशको भूमिका प्रशंसनीय छ । प्रतिस्पर्धी होउन् त उमेश र अञ्जनजस्ता !’

प्रतिक्रिया दिनुहोस