aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
करदाता सम्मान

उत्कृष्ठ करदातामा सँधैं पुरानै अनुहार, धेरैलाई उत्कृष्ठ मान्ने मापदण्डले समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
उत्कृष्ठ करदातामा सँधैं पुरानै अनुहार, धेरैलाई उत्कृष्ठ मान्ने मापदण्डले समस्या

काठमाडौं । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले प्रत्येक वर्ष उत्कृष्ठ करदाताहरुलाई सम्मान गर्ने गर्छ । ८ वर्ष अघिदेखि मनाउन थालिएको कर दिवसले करदाता सम्मानको एउटा परम्परा नै बसालेको छ । सोही परम्परा अनुसार यो वर्ष पनि विभागले १५ जना व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सम्मानित गर्यो । कर सप्ताहको अवसरका आइतबार अर्थमन्त्री विष्णु पौडेलले विभिन्न विधाबाट सबैभन्दा धेरै कर तिर्ने १४ वटा व्यवसायिक संस्थाका प्रतिनिधि एकजना व्यक्तिगत करदातालाई सम्मान गरेको हो । 

त्यसरी सम्मानित हुनेमा सबैभन्दा बढी आयकर बुझाउने सूर्य नेपाल प्रा.लि., व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने विजयकुमार शाह, निर्यात उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने डाबर नेपाल, उद्योग विधाबाट हिमाल पावर तथा कृषिजन्य उद्योगबाट अन्नपूर्ण एग्रोलाई सम्मान गरिएको छ । 

त्यस्तै, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप, पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल, व्यापारमूलक कम्पनीतर्फ अग्नी इन्कर्पोरेट, रेमिट्यान्स कम्पनीतर्फ आईएमई लिमिटेड, मध्यमस्तरीय करदाता कार्यालयका करदाता मध्यबाट कामना सेवा विकास बैंक, आन्तरिक राजश्व कार्यालयका तर्फबाट भि.एफ. सर्भिसेज तथा नियमित भ्याट विवरणमा घोराही सिमेन्ट इन्डष्ट्रिज सम्मानित भएका छन् । 
 

अधिकांश एउटै अनुहार

यसरी उत्कृष्ठ करदाताबाट सम्मानित हुने कम्पनीहरुमा अधिकांश भने अघिल्ला वर्षहरूमा सम्मान पाएका कम्पनीहरू नै छन् । विगतदेखि नै सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको सूर्य नेपाल यो वर्ष पनि सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको पहिलो नम्बरमै रहेको छ । त्यस्तै, डाबर नेपाल, हिमाल पावर, छिमेक लघुवित्त, नबिल बैंक, पुनर्बीमा कम्पनी, तारागाउँ रिजेन्सी र घोराही सिमेन्टले अघिल्लो वर्ष पनि सोही विधामा उत्कृष्ठ करदाता बनेका थिए । 

यो वर्ष सुरुदेखि नै सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्दै आएका सिद्धार्थसम्शेर राणालाई विजयकुमार शाहले जितेका छन् । स्वास्थ्य शिक्षातर्फ मनिपाल एजुकेशनले अघिल्लो वर्ष सम्मान पाएको नोबेल मेडिकल कलेजलाई पछि पारेको छ । सूचना प्रविधितर्फ र ४० करोड तथा ८० करोडसम्मको कम्पनीको विधा हटाउँदा नेपाल स्टक एक्सचेञ्ज, एफवान सफ्ट र नेपाल इन्भेष्टमेन्ट प्रा.लि.को अवार्ड खोसिएको छ । 

घोषणा गरिएको विधालाई सधै भरि निरन्तरता दिनुपर्ने पूर्व अर्थसचिव शान्तराज सुवेदीले बताए । करदातालाई सम्मान गर्ने विधा निर्धारण गर्दा घनिभूत छलफल गरेर निर्णय लिनुपर्ने र एक पटक निर्णय लिइसकेपछि त्यसलाई हटाउन नहुने उनले बताए । समय सान्दर्भिक कुनै विधा थप गर्नुपर्ने भएमा थप समेत गर्नु पर्ने तर हटाउन भने नहुने उनले भनाइ छ ।

कहिले कुन विधा कहिले कुन विधालाई सम्मान गर्दा अर्थात कर विधा परिवर्तन गर्दा कर प्रशासन अस्थिर बन्छ,’ उनले भने । ‘करदातालाई प्रोत्साहन गर्न करदातालाई सम्मान गर्न थालिएको हो,’ उनले भने ‘उहाँहरूको मनोबल उच्च हुने गरी कर प्रशासनले कार्य सम्पादन गर्नुपर्छ ।’

त्यसरी हटेको विधामा रेमिट्यान्स कम्पनीतर्फको विधा थप हुँदा आईएमईले सम्मान पाएको छ । त्यस्तै मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजश्व कार्यालयको विधा थप हुँदा कामना सेवा विकास बैंक र भि.एफ.सर्भिसेजले सम्मान पाउन सफल भए ।

धेरै कर तिर्ने नै उत्कृष्ठ

आन्तरिक राजश्व विभागले अहिलेसम्म धेरै कर तिर्नेलाई नै उत्कृष्ठ करदाताको दर्जा दिँदै आएको छ । कम्पनीको पुँजी, कर्मचारी संख्या, त्यो कम्पनीले समाजमा पार्ने प्रभाव, कम्पनीले बहज गरेको सामाजिक उत्तरदायित्व जस्ता विषयलाई ध्यानै नदिई उत्कृष्ठ करदाता घोषणा गर्ने पद्दतिका कारण करदाताहरू उत्साहित हुन सकेका छैनन् । त्यसमाथि प्रत्येक वर्ष सम्मानित हुने कम्पनी एउटै हुँदा यसले करमा प्रतिस्पर्धात्मक अवस्था सिर्जना गर्न समेत सकेको छैन । 

प्रतिक्रिया दिनुहोस