
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । मंसिर ३ गतेसम्म ७० रुपैयाँमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पुर्याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको डिलर मूल्य भने ७७.२० रुपैयाँ रहेको छ ।
कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । उक्त चिनी प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो । उक्त मूल्य डिलरका लागि हो । विरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४.५० रुपैयाँ पर्ने कर्पोरेशनले जानकारी दिएको छ । आम उपभोक्ताले चिनी खरिद गर्नको लागि १५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । कर्पोरेशनले बिक्री गर्ने चिनीको प्याकेटमा २ केजीको हुने गरेको छ ।
आम उपभोक्ता मूल्य भने ७७.५० रुपैयाँ रहेको कर्पोरेशनका केन्द्रिय विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले बताए । ‘कर्पोरेशनले पछि आयात गरिएको चिनीको नयाँ मूल्य आज सोमबार निर्धारण गरेको हो,’ उनले भने ‘ हालै भारतबाट आयात गरिएको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरिएको हो ।’ हालैमात्र साल्ट ट्रेडिङले सरकारी स्वीकृतिमा भारतको कलकत्ताबाट पटकपटक गरी करिव २० हजार मेट्रिकटनक चिनी आयात गरेको छ ।
चिनीको नयाँ मूल्य निर्धारणसँगै आम उपभोक्ताले अब साल्ट ट्रेडिङबाट ७० रुपैयाँ प्राप्त गर्दै आएको चिनीमा ७७.५० रुपैयाँ तिर्नुपर्नेछ । मंसिर ३ गतेसम्म सरकारले सञ्चालन गरेको सुपथमूल्य पसल र साल्ट ट्रेडिङ कम्पनीबाट मात्रै ७० रुपैयाँमा चिनी खरिद गर्दै आएका थिए ।
अब साल्ट टे«डिङ कर्पोरेशनबाटै चिनी खरिद गर्दा पनि आम उपभोक्ताले साढे ७ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । दशैं, तिहार तथा छठ जस्ता ठूला चाडंपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चाल गर्दै आएको कर्पोरेसनले उपभोक्ताहरूलाई ७० रुपैयाँ प्रतिकेजी मूल्यमा नै चिनी उपलब्ध गराएको थियो ।
‘सरकारी स्वीकृतिअनुसार पछिल्लो समय भारतबाट आयात गरिएको चिनीको मूल्य, भाडा र व्यवस्थापन खर्च समेत जोडर नयाँ मूल्य तोकिएको झाले बताए । मूल्य बढाइएका नभइ नयाँ चिनीको मूल्य निर्धारण गरिएको हो,’ झाले भने ।
चिनीको नयाँ मूल्य पनि बजारकोभन्दा सस्तो भएको झाले बताए । ‘बजारको तुलनामा हामीले आयात गरेको चिनीको मूल्य प्रतिकेजी ५–६ रुपैयाँले नै सस्तो छ,’ उनले भने । अहिले बजारमा ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म प्रतिकेजी चिनीको कारोबार भइरहेको छ । तर साल्टले ७७ रुपैयाँ २० पैसामा नै चिनी उपलब्ध गराउने भएको छ ।
हाल नेपालमा वार्षिक २ लाख ४० हजारदेखि २ लाख ५० हजार मेट्रिक टनसम्म चिनी खपत हुने गरेको छ । तर, नेपालमा भने वार्षिक एक लाख ६९ मेट्रिक टनमात्र चिनी उत्पादन हुने गरेकोले चिनी आयात गर्नु पर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस