
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत समूहतर्फको उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । महासंघ अन्तर्गत उद्योग समितिको सभापति समेत रहेका उनी यसअघि नाडा अटोमोबाइल्स फेडेरेसनको अध्यक्ष समेत थिए । आसन्न निर्वाचनमा किशोर प्रधान समूहबाट उम्मेदवारी दिएर यो कार्यकालमा समेत वस्तुगततर्फ उम्मेदवार रहेका उमेशलाल श्रेष्ठसँग चुनावी मैदानमा उत्रिएका श्रेष्ठसँग गरिएको चुनावी वार्ता :
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहको उपाध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ, उम्मेदवारीका लागि तपाइँको एजेन्डा के हो ?
नेपाल उद्योग वाणिज्य महासंघ भनेको व्यवसायिक वातावरण निर्माणका लागि नीतिगत र कानूनी समस्या समाधान गर्ने ठाउँ हो । उद्योग व्यावसायलाई स्थापित गर्न यहाँ अहिले पनि नीतिगत समस्याहरु छन् । सबै क्षेत्रबाट बन्ने नीति नियम लागु गर्नसक्ने खाल, सरल, सहज, प्रस्ट र प्रक्षेपण गर्न सकिने खालको हुनुपर्यो ।
त्यस्तै, पूर्वाधारका कुराहरु छन् । पुर्व–पश्चिम रेलमार्ग बन्ने तयारीमा छ । मध्यपहाडी क्षेत्रमा पनि ट्रंकरोडको रुपमा विकास गर्नुपर्छ, ताकि यसको व्यवसायिक लागत कम होस् । यस्ता पूर्वाधार निर्माणका कामहरुको लागि सहज वातावरण निर्माण गर्नुपर्छ ।
हाम्रो देश कृषिप्रधान देश हो । अब हामीले कृषिलाई विशेष प्राथमिता दिएर जानुपर्छ । कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक बनाउनुपर्छ । सरकारले पनि भूमि बैंकको अवधारणा ल्याएको छ, त्यसको चाँडो कार्यान्वयन गर्नुपर्छ । कृषिलाई अगाडि बढाउन योसँगै सिँचाइको पनि आवश्यकता पर्छ । सधैँ आकाशे पानीको भरमा कृषि गर्न सकिँदैन । अर्को अतिनै आवश्यक भनेको मल कारखाना हो, यसका लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ । यसले किसानले खेपिरहेको अभाव हटाएर उत्पादकत्व बढाउन मद्दत गर्छ ।
हामीले बाहिरबाट काठ आयात गरिरहेका छौँ । पर्यावरणलाई कुनैपनि नोक्सान नहुनेगरी वनलाई जोगाएर वन पैदावरलाई नियन्त्रण गर्न पनि एउटा भिजन हुनुपर्यो । हामी सरकारलाई त्यसका लागि भिजन दिन्छौं । काठमात्रै होइन, मुलुकमा भएका खनिज पदार्थहरुको उपयोग गर्न हामीले विभिन्न योजना बनाएका छौँ ।
देशमा राजनीतिक परिवर्तन त भयो, तर व्यवसायिक हेर्ने सोच्ने दृष्टिकोण परिवर्तन भएको छैन । यो दृष्टिकोण अब परिवर्तन हुनुपर्छ । उद्योग व्यवसायले यो देशको आर्थिक सामाजिक रुपान्तरण गर्छ । यो रुपान्तरण हामी निजी क्षेत्रले गर्न सक्छौ । यी क्षेत्रहरुमा केन्द्रित भएर सरकारसँग नीतिगत छलफलका लागि अघि बढ्नकै लागि हाम्रो समूह बनेको हो, त्यसमा म सहभागी भएको हुँ ।
निर्वाचनको प्रतिस्पर्धामा उत्रिएपछि जित्ने आधार पनि होलान् । निर्वाचन आफ्नो पक्षमा आउँछ भन्ने आधार के के छन् ?
म विगत १६ वर्षदेखि यो क्षेत्रमा आवद्ध छु । यो अवधिमा म उद्योग तथा वाणिज्य क्षेत्रको सुधार र विकासका लागि अहोरात्र खटिएको छु । निजी क्षेत्रको हितका लागि मैले गरेका अधिकांश प्रयासहरु सफल पनि भएका छन् । मैले सामाजिक सुधार ऐनमा समेत काम गरेको छु । विदेशबाट आयात हुने वस्तुहरु गुणस्तर कायम गर्ने, नेपालमा उत्पादित वस्तुहरुलाई गुणस्तरको प्रमाणपत्र दिने लगायत विषयमा मैले भूमिका निर्वाह गरेँ, जुन सफल पनि भयो ।
म आफैं पनि एउटा व्यवसायीको रुपमा स्थापित भएर काम पनि गरिरहेको छु । यही क्षेत्रमा रहेर व्यवसाय गरेकोले यो क्षेत्रको समस्या र त्यसको समाधानप्रति जानकार समेत छु । मेरो विगतको नेतृत्व र त्यसमा पाएको सफलताका कारण मतदाताहरुले मलाई विश्वास गर्नुभएको छ । त्यही विश्वास नै मेरो जीतको मुख्य आधार हो ।
उद्योग वाणिज्य क्षेत्रको विकास र सुधारका लागि हाम्रो टीमले १० वर्षे कार्ययोजना ल्याएको छ । शेखर गोल्छासहितको बसेर हामीले यस्तो कार्ययोजना बनायौं । यो कार्ययोजनामा महासंघभित्रको आन्तरिक अवस्थादेखि समग्र उद्योग वाणिज्य क्षेत्रका विषय समेटिएका छन् । यो कार्ययोजनाको कारण मतदाताले हामीलाई थप विश्वास गर्ने आधार बनेको छ ।
तपाइँ अहिले नै वस्तुगत उपाध्यक्ष रहुनुभएका व्यक्तिसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धालाई चाहिँ कति जटिल मान्नुभएको छ ?
म अरुसँग तुलना गरेर मेरो जित्ने आधारहरु भन्न सक्दिन । तर, हिजोको दिनमा मैले गरेको नेतृत्व हेर्ने हो भने म कोही भन्दा कम छैन भन्नेमा विश्वस्त छु । नेपाल उद्योग वाणिज्य महासंघलाई भोलिको दिनमा अगाडि बढाउन सबल, सुदृढ निजी क्षेत्र बनाएर सबै व्यवसायीलाई सफल बनाउन योगदान गर्न सक्छु भन्ने कुरामा म विश्वस्त छु ।
तपाइँको प्यानल सबलको र कमजोर पक्ष चाहिँ के हो ?
म मेरो प्यानलमा कमजोरी त त्यस्तो केही देख्दिँन । हाम्रो प्यानलमा २८ वर्षदेखि अनुभव सँगाल्नु भएका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुसँग नयाँ भिजन छ, स्पष्ट वक्ता पनि हुनुहुन्छ । आफ्नो भिजनबारे सरकार र अन्य निकायसम्म पुर्याउनसक्ने र बुझाउनसक्ने क्षमता भएका व्यक्तिहरु हुनुहुन्छ ।
हाम्रा प्यानलमा रहेको सफल युवा व्यवसायी पनि हुनुहुन्छ । हाम्रो नेतृत्वमा सबैजना आफे सक्षम पनि हुनुहुन्छ । सबैजनाले आफ्नो संगठनलाई सकारात्मक नेतृत्व गरिरहनु भएका छ । प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने पनि एउटा नमूना टीम बनेको छ । समग्रमा हेर्ने हो भने हाम्रो टिम सशक्त छ । हाम्रो टिमको सबैजनाले जित्छौ भन्नेमा विश्वस्त छौँ ।
महासंघमा विगतदेखि नै व्यापक राजनीति हाबी भएको देखिन्छ, त्यसलाई चिरेर महासंघलाई व्यवसायिक संस्था बनाउन तपाईँको भूमिका के रहन्छ ?
नेपाल उद्योग वाणिज्य महासंघ एक विशुद्ध व्यवसायिक संस्था हो । यो संस्थामा कुनै पनि अव्यवसायिक काम हुनु हुँदन । विगतमामा भएका वा अहिले रहेका त्यस्ता गतिविधिलाई भोलि हाम्रो नेतृत्वले चिर्नेछ र महासंघलाई हामी सबैले चाहेको जीतो विशुद्ध व्यवसायिक संस्थाको रुपमा काम गर्ने वातावरण निर्माण गर्नेछ ।
संस्थामा व्यक्तिवाद हाबी हुनुहुन्न । यो सामूहिक निर्णय र समग्र उद्योग वाणिज्य क्षेत्रको हितमा चल्नुपर्छ । व्यक्तिवादी प्रवृत्तिले भोलिका दिनमा न व्यक्तिलाई हित गर्छ न संस्थालाई । हामी संस्थागत हितमा काम गर्छौ । विगतमा केही गलत अभ्यास पनि भए । त्यसलाई हामी नयाँ नेतृत्वले चिर्छौ । सबै नेपाली व्यावसायीको शिर उच्च हुने काम गर्छौ ।
प्रतिक्रिया दिनुहोस