
सौरभ ज्योति नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्स समूहको तर्फबाट उपाध्यक्षका उम्मेदवार हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य भई बैंक तथा वित्तीय संस्था हेर्ने समितिको सभापतिको भूमिका समेत निर्वाह गरेका छन् । अघिल्लोपटक पनि उनी सोही पदमा उम्मेदवारी दिएका थिए । तर, चन्द्र ढकाललाई सर्वसम्मत गराउन उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा ज्योति ग्रुपका सञ्चालक समेत रहेका सौरभ ज्योतिसँग गरिएको चुनावी वार्ता :
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा तपाइँको उम्मेदवारी किन ?
मेरो व्यक्तिगतको हितका लागि नभई निश्वार्थ रुपमा संस्थाको हितको लागि काम गर्न यो चुनावमा मैले उम्मेदवारी दिएको हुँ । यो चुनावमा म व्यक्तिगत रुपमा आएको होइन, हाम्रो टीम बनेर आएको छ । हाम्रो टीम कुराभन्दा काम धेरै गर्ने टिम हो । हाम्रो टीमले निर्वाचित भएपछि गर्ने कार्ययोजना समेत प्रष्ट रुपमा लिएर आएको छ ।
त्यसैले यो उम्मेदवारी मेरो व्यक्तिगत भन्दा हाम्रो टीमकै उम्मेदवारी हो । त्यसैले म एउटा निर्वाचित भएर मात्रै म वास्तवमा विजयी हुने होइन । मेरो सम्पुर्ण टिम निर्वाचित भए मात्रै म विजयी भएको हुनेछु । अहिले हाम्रो उम्मेदवारी काम गर्नकै लागि हो ।
महासंघको १० वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । एफएनसीसीआई र समग्र निजी क्षेत्रको सुदृढीकरणका कुराहरु उठाउनुभएको छ । कहाँ र कस्तो खालको सुदृढीकरणको कुरा गर्नुभएको हो ?
पहिलो सुदृढीकरण त महासंघको सचिवालयकै हो । दोस्रो, तथ्यांकहरुको संकलन र अनुसन्धानको विषयमा महासंघले काम गर्ने भन्ने हो । महासंघ व्यवसायिक संस्था भएकोले यहाँ अव्यवसायिक र राजनीतिक गतिविधि हुन नदिने पनि हाम्रो उद्देश्य हो । महासंघलाई कुनै व्यक्ति वा व्यापारिक समूहको हितको निम्ति नभई समग्र उद्योगी व्यापारीहरुको हितका लागि प्रयोग गर्ने वातावरण बनाउनुपर्छ ।
हामी उद्योगी व्यापारीलाई पनि नीतिगत, कानूनी वा प्राविधिक विषयहरुमा धेरै जानकारी नभएको हुन सक्छ । त्यसलाई सुधार गर्न आफ्नै सदस्यहरुको क्षमता वृद्धिको लागि हामीले काम गर्नुपर्नेछ । प्रविधि अनुसारका विभिन्न तालिम दिने, समय अनुसार आफ्नो सीप, क्षमता बढाउँदै लैजानुपर्ने देखिन्छ ।
हामीले नेपाल सरकारसँग नजिक भएर काम गर्नुपर्ने हुन्छ । नेपालको अर्थतन्त्रको विकास गर्नु पर्नेछ । नेपालमा विभिन्न ठुला आयोजनामा काम गर्न कामदारहरु विदेशबाट ल्याइएका छन्, अब हामीले विदेशबाट कामदार ल्याउने भन्दा पनि नेपालीलाई नै ज्ञान सीप र क्षमता बढाउनुपर्ने हुन्छ । कामदारको हकहित सुनिश्चितताको विषयलाई पनि हामीले हेर्नुपर्ने हुन्छ । यसलाई रोजगारदाताको हक हितसँग समायोजन गरेर अघि जानुपर्छ । यी सबै गर्नका लागि निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण र सम्बन्ध सधँै राम्रो हुनु जरुरी छ । महासंघको सुदृढीकरण अन्तर्गत यी सबै विषयहरु पर्छन् ।
यी सबै काम तपाइँहरुले गर्न सक्नुहुन्छ त ?
एउटै कार्यकालमा सम्भव हुँदैन भनेर हामीले ३ वटा कार्यकालको कार्ययोजना ल्याएका हौं । एउटा नेतृत्वले ल्याएको कार्ययोजनालाई अर्को नेतृत्वले स्वामित्व ग्रहण गरेर अघि बढ्नेगरी हामी अघि बढेका छौं । १० वर्षमा हामीले उल्लेख गरेका सबै कामहरुमा उल्लेख्य सफलता हासिल गरिसकेका हुनेछौं ।
हाम्रो योजना एउटै हो जुन आर्थिक समृद्ध निजी क्षेत्रको विकास । निजी क्षेत्रले मानसम्मान सुरक्षा पाउनुपर्ने भन्ने हो । निजी क्षेत्र भनेको एउटा रोजगारी सर्जना गर्ने थलो पनि हो । निजि क्षेत्र सरकारलाइ टेवा पुर्याउनको लागि पहिलो तीन वर्ष महासंघ भित्रैको सुदृढीकरण गरेर अगाडि जानुपर्छ । आफू बलियो भएपछि अरुलाई पनि बलियो बनाउन सकिन्छ ।
कोरोना महामारीबीच तीव्र चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । अघिल्लो पटकभन्दा पनि अहिले बढी चहलपहल छ । कोरोना महामारीबीच एउटा व्यवसायिक संस्थाका यस्तो प्रतिस्पर्धा कतिको उपयुक्त हो ?
हरेक चुनावमा चहलपहल त भइहाल्छ । आफ्नो टिमको लागि प्रचारप्रसार गर्नैपर्ने हुन्छ । हुन त समझदारी गरेर अगाडि पनि बढ्न सकिन्थ्यो । यसका लागि अन्तिम समयसम्म प्रयास जारी नै थियो । तर सहमति नभएको अवस्थामा प्रचारप्रसारहरु गर्नु स्वभाविक नै हो ।
समझदारी हुनु राम्रो कुरा हो । तर, समझदारी नभएर चुनावी प्रतिस्पर्धामा जानु नराम्रो कुरा पनि होइन । चुनावले क्षमतावान व्यक्ति छनौट गरेको हुन्छ । चुनावमा छानिएका व्यक्ति उहाँहरुको योग्यता, अनुभव, योगदान, क्षमताको हिसाबले छानिएको हुन्छन् । यसलाई हामीले राम्रै ढंगबाट हेर्नुपर्छ ।
तर, चुनावी प्रतिस्पर्धा स्वस्थ भएन । एउटा पक्षले अर्कोलाई आरोप लगाउने काम भयो । प्रोक्सीको लफडा अझै हटेको छैन । यो त राम्रो होइन होला नि ?
विधान भन्दा माथि कोही हुन सक्दैन । विधान अनुसार नै हामी अगाडि बढ्नुपर्ने हुन्छ । नियम कानुन अनुसार नै हामी अगाडि बढ्छौं । विधान बाहिर गएमा हाम्रो निर्वाचन आयोग छ यो सबै उहाँहरुले हेर्नुहुन्छ ।
एशोसियटमा उपाध्यक्षमा अर्का उम्मेदवार पनि हुनुहुन्छ । मतदाताले सौरभ ज्योतिलाई नै किन भोट हाल्ने ?
सौरभ ज्योतिलाई भोट खसाल्ने भन्दा पनि यो पदका लागि सबैभन्दा योग्य व्यक्ति, काम गरिसकेको अनुभवी व्यक्ति, जसले महासंघमा काम गरिसकेको राम्रो व्यक्ति हो भने त्यसलाई छनौट गरेर भोट खसाल्ने हो । योग्य व्यक्ति छान्ने हो, जुन छान्दा म पर्छु या अरु पर्छन् यो जर्जमेन्ट गरेर भोट खसाल्ने हो ।
तर, मैले आफ्नो कुरा गर्नु पर्दा महासंघमा रहेर मैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न विषयगत संघसस्थामा आबद्ध रहेर काम गरिरहेको छु । युवा क्याम्पियन, युवा स्वरोजगार स्कीम लगाइसकेको छु । महासंघमा चार कार्यकार काम गरिसकेको छु । बजेट, करसँग सम्बन्धित क्षेत्रमा काम गरिसकेको छु । अरु पनि विभिन्न योगदान गरिसकेको भएकोले मलाई योग्य ठानेर मलाई छानिएको छ । हिजोको कामको मुल्याङ्कनको आधारले साथीहरुले मलाई योग्य ठानेर छननौट गर्नुहुन्छ भन्ने पुर्ण विश्वस्त छु ।
आफ्नो प्यानललाई अझ राम्रो बनाउन केके गरिरहनुभएको छ ?
हामी कसैको प्यानल होइन, हामी महासंघको प्यानल हो । महासंघको प्यानल भनेको अध्यक्ष हो । हामी अध्यक्षलाई सफल पार्न हामी लागिपरेका हौ । अध्यक्ष सफल हुनु भनेको महासंघ सफल हुनु हो । त्यसैले हामी अरु कसैको प्यानल नभई सम्पूर्ण महासंघको प्यानल हो ।
मेरो पनि धेरै कमी कमजोरी होलान् । मलाई धेरै कुरा थाहा नभएको पनि हुनसक्छ । सबै व्यक्ति सबै क्षेत्रमा पोख्त हुन्छ भन्ने पनि छैन । तर, हाम्रो काम गर्ने शैली, हाम्रो योजना सबैसँग सल्लाह गरेर, सुझाव लिएर गर्ने खालको छं । हाम्रो टिमममा सबै क्षेत्रमा आवद्ध हुनुभएको व्यावसायी हुनुहुन्छ । आफ्नो मात्र स्वार्थ होइन समग्र निजी क्षेत्रको हितका लागि काम गर्ने व्यक्तित्व हाम्रो टिममा छौं ।
एशोसियटमा भोटको किनवेच पनि हुन्छ भन्ने हल्ला छ । यस्तो सम्भावना छ र ?
यो बिल्कुलै हुँदैन । यो १०० प्रतिशत गलत हल्ला हो । यसमा त विभिन्न कम्पनीका मालिकहरु हुनुहुन्छ । तपाइँ आफैँ सोच्नुस्, कम्पनीका मालिकलाई कसरी किन्ने ? यो त सोच्न पनि सकिँदैन । बरु हात जोडेर सहयोग माग्ने हो ।
प्रतिक्रिया दिनुहोस