aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

महासंघ चुनावः उपाध्यक्षका दावेदारहरूको जित्ने यस्तो छ दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ मंसिर २०७७
महासंघ चुनावः उपाध्यक्षका दावेदारहरूको जित्ने यस्तो छ दावी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा एसोसिएट उपाध्यक्ष द्वय सौरभ ज्योति र रामचन्द्र संघई दुबैले उत्कृष्ट मत ल्याएर विजय हुने बताएका छन् । एसोसिएट उपाध्यक्ष सौरभ ज्योतिले आफू दुई तिहाइभन्दा बढी मत ल्याएर विजय हुने बताएका छन् भने उनका प्रतिद्वन्द्वी रामचन्द्र संघई पनि आफू राम्रो मत ल्याएर विजय हुने आर्थिकन्यूजलाई बताए । 

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट उपाध्यक्षका दावेदार सौरभ ज्योतिले आफ्नो पक्षमा ६ सयभन्दा बढी मत खस्ने बताएका छन् संघईले त्यति उति भन्दा पनि राम्रो मत ल्याउने बताए । आर्थिकन्यूजसँगको कुराकानीमा ज्योतिले भने ‘म ६ सयभन्दा बढी मत ल्याएर विजय हुनेमा विश्वस्त छु ।’ साथै संघई भने ‘म अहिले मत गनेर बसिरहेको छु, मेरो पक्षमा राम्रो मत खस्नेमा म ढुक्क छु ।’

एसोसिएट सदस्यको जम्मा ९०४ भोट रहेको र सो मतमा आफूले दुई तिहाइ भोट ल्याउने बताएका हुन् । एसोसियट ९२६ मतबाट घटेर ९०४ मा झरेको छ । ‘म यो चुनावमा ६ सयभन्दा बढी मत ल्याएर विजय हुन्छु,’ उनले भने ‘यसमा म ढुक्क छु ।’ महासंघको चुनावमा ज्याति वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधानको प्यानलबाट उम्मेदवारी दिएका हुन् भने रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षका दावेदार चन्द्रप्रसाद ढकाल प्यानलका हुन् ।

सौरभ ज्योति नेपालको पुरानो औद्योगिक तथा व्यापारिक घराना ज्योति समूहका संचालक हुन् । पारिवारिक व्यवसायमा जमेका ज्योति दुई दशकदेखि महासंघमा विभिन्न पदमा रहेर काम गरिरहेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघमा डेढ दशकदेखि सक्रिय रहेका ज्योति नेपाल अटोमोबाइल एशोसिएसन, नेपाल युवा उद्यमी मञ्च र सार्क युवा मञ्चका अध्यक्ष भइसकेका छन् । युवा उद्यमी मञ्चको अध्यक्ष रहँदा स्वदेशी अर्थतन्त्र सवल बनाउने ‘मेड इन नेपाल’ इन्नोभेटिभ क्याम्पेन उनले नै शुरु गरेका थिए । 

ज्योति महासंघको उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रहँदा नेशनल एक्सिलेन्स अवार्ड समेत वितरण भएको थियो। ज्योति महासंघको बैंक तथा बीमा समितिका सभापति र राजस्व समितिको सभापतिका रूपमा समेत काम गरिसकेका छन् । 

रामचन्द्र संघई त्रिवेणी ग्रुपका निर्देश हुन् भने उनीसँग ग्यास तथा अन्य गरी दर्जनभन्दा बढी उद्योग छन् । उनी उत्कृट निर्यातकर्ता पनि हुन् । उनी पनि लामो समयदेखि महासंघमा आवद्ध रहेर काम गरिरहेका छन् । त्यस्तै महासंघ वस्तुगत उपाध्यक्ष दावेदार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको पनि आफ्नै दावी छ । उनीहरूले पनि आफूले राम्रो र मनन योग्य मत ल्याएर विजय हुने बताइ रहेका छन् । 

महासंघ वरिष्ठ उपाध्यक्षका दावेदार ढकाल प्यानलबाट चुनावी मैदानमा उत्रिएका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अर्का वरिष्ठ उपाध्यक्षका दावेदार प्रधान प्यानलबाट उम्मेदवार बनेका अन्जन श्रेष्ठको प्रतिस्पर्धा पनि कम छैन । 

वस्तुगत उपाध्यक्षका दावेदार उमेशलाल श्रेष्ठले आफू राम्रो मत ल्याएर विजय हुने बताइ रहेका छन् भने अन्जन श्रेष्ठले ६० प्रतिशत मत ल्याएर आफू विजय हुने बताइ रहेका छन् । अन्जन अटो व्यवसायी हुन् भने श्रेष्ठ औषधि उत्पादक हुन् । वस्तुगततर्फ जम्मा १०१ मत छ । यसमा अन्जनले ६० मत आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् । 

त्यस्तै जिल्ला नगरतर्फका उपाध्यक्षका दावेदार दिनेश श्रेष्ठ र गुणनिधि तिवारीको पनि चुनावी नतिजा आ–आफ्नै पक्षमा आउने दावी गरिरहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस