
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन् । निर्वाचन शनिबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न गर्न पाइने कार्यतालिका बनेको छ ।
महासंघको निर्वाचनको लागि तीन ठाउँमा मतदान केन्द्र तय गरिएको छ । जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान केन्द्र तोकिएको हो ।
यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । मतदान सकिएपछि शनिबार राती नै मत गणना सम्पन्न गर्ने तयारी समितिले गरेको छ । भोलि शनिबार महासंघको चुनावमा एसोसिएटबाट ९०४ प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघकातर्फबाट १०५ जना प्रतिनिधिले मतदान गर्ने छन् भने वस्तुगततर्फबाट १०१ जनाले मतदान गर्ने छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट ६ जनाले मतदान गर्ने छन् ।
महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा उत्रिएका थिए । पछिल्लो समय ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका कारण र दुई जना निर्वरोध निर्वाचित भएकाले १२१ जना चुनाव चुनवी मैदानमा उत्रिएका छन् ।
जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्लारनगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित भएर आउने छन् ।
महासंघको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।
महासंघको कार्यकारिणी पदका लागि हुने निर्वाचनबाट ६४ पद जना पदाधिकारी चयन हुनेछ । निर्वाचन समितिको सूचना अनुसार दुई पदमा निर्विरोध चयन भएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघको एक सदस्यमा नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्सबाट सन्दीप अग्रवाल र प्रदेश नं १ को एक सदस्यमा मोरङ व्यापार संघबाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । बाँकी ६२ पदका लागि निर्वाचन हुनेछ ।
जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन् ।
ढकाल प्यानलमा जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिएका भने प्रधान प्यानलबाट उपाध्यक्षमा जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस