
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । मतदान सकिएसँगै भरसक आजै नतिजा प्रकाशित गर्ने गरि मतगणना कार्य पनि शुरु भएको छ । मतदान सकिएपछि मतगणना सुरु गर्ने कार्यतालिका रहेकोले अबको केही घण्टामै उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ कार्यसमिति पाउने छ । सम्भवतः रातिसम्म महासंघ निर्वाचन समितिले नयाँ कार्यसमितिको नामावली प्रकाशित गरिसक्ने छ ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारणी समितिको निर्वाचन सकिएसँगै उद्योग वाणिज्य समूह (जिल्ला नगर), एशोसिएट सदस्य समूह र वस्तुगत संघ सबैको मतगणना एकै स्थान प्रज्ञा भवन कमलादीमा नै हुने भएको छ ।
आज शनिबार बन्न लागेको नयाँ कार्यसमिति गत चैतमा बनि सक्नु पर्ने थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण चैत अन्तिमसाताको साधारणसभा मंसिर ११ गतेदेखि १३ गतेसम्म सारिएको हो । महासंघको नयाँ कार्य समिति चयनको लागि तीन स्थानबाट मतदान गरिएको थियो । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की ब्यांक्वेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन स्थानबाट मतदान भएको हो ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की बयांक्वेट बबरमहलमा एसोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको थियो । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।
अब महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै स्वतः अध्यक्ष बन्ने छन् भने एक वरिष्ठ उपाध्यक्ष सहित ३ उपाध्यक्ष र अन्य कार्यकारिणी सदस्य गरी ६४ सदस्य समिति बन्नेछ । उक्त कार्यसमितिको नेतृत्व स्वत अध्यक्ष बनेका शेखर गोल्छाले गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस