काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो । कोरोना सङ्क्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्र्स, स्वास्थ्यकर्मी छन् । कतिपय चिकित्सक कोरोना सङ्क्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयू तथा भेन्टिलेटरमा उपचारपछि निको भए । पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीलाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोनालाई परास्त गरी उहाँ यतिखेर मन्त्रालयको नियमित काममा फर्किसकेका छन् । दशैँको मुखमा कोरोना सङ्क्रमित भएपछि उनलाई दशैँको रौनक भएन । केही खाएको स्वाद तथा गन्धसमेत थाहा हुादैनथ्यो ।
सहप्रवक्ता डा. अधिकारीले दशैन्मा आफैले टीका लगाउनुभएको थियो । आमाबुबाले मुछेर कोठाको कुनामा राखिदिएको टीका आफैले लगाउनुपरेको खल्लो अनुभव छ डा. अधिकारीसँग । कोरोना सङ्क्रमित भएको १४ दिनपछि उहाँ पुनः कोरोना परीक्षण नगरी काममा गए । उनलाई कतिपयले कोरोना नेगेटिभ नआई किन कार्यालय आउनुभएको भन्ने प्रश्नसमेत गरे । समाजमा कतिपयले कोरोना सङ्क्रमित भइसकेपछि उनीहरूले हेर्ने दृष्टिकोण नकारात्मक रहेको उहाँको गुनासो छ । नियमित कामको क्रममा कोरोना सङ्क्रमित हुनु स्वाभाविक हो, भन्दै डा. अधिकारीले थपे, “तर समाज र साथीभाइ समेत कोरोना सङ्क्रमण भएको थाहा पाएपछिको व्यवहार फरक पाइयो ।”
नौ दिनपछि कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भन्ने थाहा छ, लक्षण छैन भने काममा निस्कन र पुनः परीक्षण गर्न समेत पर्दैन भन्दै डा. अधिकारीले स्पष्ट पारे, “अहिले धेरै व्यक्ति कोरोना नेगेटिभ नआएको भन्दै घरमै बसिरहेका छन् ।” कतिपय कार्यालयमा काम गर्न नेगेटिभ रिपोर्ट आउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको भन्दै अधिकारीले लक्षण केही छैन भने १४ दिनपछि नियमित काममा जान सबै सङ्क्रमितलाई सुझाव दिए ।
स्वास्थ्य मातहतमा भने १४ दिनपछि सङ्क्रमित स्वास्थ्यकर्मी नियमित कार्यालय जान थालेको जानकारी दिँदै उहाँले स्वास्थ्य सेवा बाहेकका कर्मचारी ४५÷५० दिनसम्म कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै घर बसिरहेको बताए । उनले कोरोना रिपोर्ट नेगेटिभ आउनुभनेको सर्प मरिसक्यो तर त्यो सर्पको काँचुली देखेपछि यही सर्प हो, यसले टोक्न सक्छ भनेर आत्तिएको जस्तो भएको बताए ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीको अनुभव छुट्टै छ । उनी पनि १० दिनसम्म आईसीयूमा बसेर बल्लतल्ल कोरोनालाई जित्न सफल हुनुभयो । कोरोना भएपछि विराटनगरबाट गत साउन २० गते हवाइजहाज चार्टर गरेर काठमाडौँको शिक्षण अस्पताल पु¥याइएको थियो ।
चिकित्सकहरूको नियमित उपचारले निको नभएपछि उनले भारतबाट ब्लाक मार्केटबाट औषधि ल्याई उपचार गरेपछि कोरोनालाई जित्न सफल हुनुभएको थियो । मैले भारतबाट तीन लाख रुपियाँमा रेम्डेसिभिर किनेर १० लाखको हवाइजहाज चार्टर गरेर बाँचेको हुँ डा. कार्कीले कथा सुनाए, “त्योभन्दा अघि नेपालमा रेम्डेसिभिर प्रयोगमा थिएन ।” मैले उक्त औषधि प्रयोग गरेपछि नेपालमा कोरोना सङ्क्रमितको उपचारका लागि सुरु भएको जानकारी दिँदै डा. कार्कीले थपे, “म भाग्यले बाँचेको मान्छे हुँ, कोरोनाले ठूलो पाठ सिकाएको छ ।” पैसा, पावर र कमाउनेभन्दा पनि बाँच्ने समय हो भन्दै उहाँले कोरोना नियन्त्रणमा सबैको साथ आवश्यक रहेको बताए । डा. कार्कीले आफू सात दिनसम्म मृत्युसँग जुधेर बाँचेको भन्दै त्यही भएर आफू कार्यरत अस्पतालमा २० वटा भेन्टिलेटर थपेर कोरोना सङ्क्रमितको उपचार गराइरहेको जानकारी दिए ।
कोरोना केही होइन भन्ने सोच कहिल्यै नगर्न सुझाव दिँदै उहाँले नेपालमा कोरोनाले ठूलो पाठ सिकाएको बताए । डा. कार्कीले कोरोनालाई जितिसकेपछि अहिले दैनिक तीन जनासम्मको शल्यक्रिया गरिरहेको बताए । डा. कार्कीले आफूलाई कोरोनालाई जित्न ४० लाखभन्दा बढी रकम लागेको भन्दै कोरोनालाई हेलचेक्र्याइँ नगर्न आग्रह गरे ।
नेपाल चिकित्सक सङ्घका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीको कोरोनाबारे छुट्टै अनुभव छ । प्रदेश–२ मा सञ्चालित कोरोना अस्पतालको अनुगमन गर्ने क्रममा उहाँलाई कोरोना सङ्क्रमण भएको थियो । डा. बुढाथोकीले तराईबाट फर्किसकेपछि सुरुमा ज्वरो आउने र थकान भएको थियो । धेरै दिनसम्म निको नभएको र औषधिले समेत काम नगरेपछि उहाँले कोरोना परीक्षण गर्दा सङ्क्रमित भएको पुष्टि भएको थियो ।
सास फेर्न गाह्रो भएपछि उनी टेकुस्थित सरुवा रोग अस्पतालमा भर्ना भई आईसीयूमा उपचार गरी कोरोनालाई जितेका थिए । उपचारका क्रममा उहाँको फोक्सोमा ५० प्रतिशत असर भइसकेको थियो । कोरोना सङ्क्रमित भइसकेपछि धेरैको फोन आउने भएकाले कसैलाई आफू सङ्क्रमित भएको कुरा भनेको थिइनँ, डा. बुढाथोकीले भने, “फोनले पनि उपचार गर्दा असर गर्दो रहेछ । ”
डा. बुढाथोकीले समाजमा कोरोनालाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताए । अझै पनि कोरोनालाई महापाप हो जस्तै गर्ने गरेको भन्दै उनले कोरोनालाई सामान्य रूपमा नलिन आग्रह गरे । अस्पतालमा पुगेर अक्सिजन लिएपछि आफू स्वर्गमा पुगिएको जस्तै अनुभव भयो भन्दै उहाँले अक्सिजन लिएपछि अब बाँचिने भइयो भन्ने सोच पलाएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस