aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

वर्षेनि बैंकिङ कसूरका घटना बढ्दै

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, १४ मंसिर २०७७
वर्षेनि बैंकिङ कसूरका घटना बढ्दै

काठमाडौं । नेपालमा वर्षेनि बैंकिङ कसूरसम्बन्धी घटनाहरू बढ्दै गएका छन् । विगत ५ आर्थिक वर्ष र चालू आर्थिक वर्षको कात्तिकसम्ममा देशभर कुल ८ हजार १९ ओटा बैंकिङ कसूरसम्बन्धी घटना भएका छन् । चेकबाउन्स, ठगी, जालसाजी र अनलाइन कारोबारको दुरुपयोग गरेकाले बैंकिङ कसूरको संख्या बढ्दै गएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७२/७३ मा देशभर ४६ ओटा बैंकिङ कसूरको उजुरी परेको थियो । तर, त्यसपछिका वर्षहरूमा यस्तो उजुरीको संख्या क्रमशः बढ्दै गएको छ ।

आव २०७३/७४ मा ९३ ओटा बैंकिङ कसूरका उजुरी परेकोमा आव २०७४/७५ मा बढेर यस्तो संख्या ७ सय ७६ पुग्यो । आव २०७५/७६ मा बैंकिङ कसूर गर्नेको संख्या ३ हजार १ सय ६७ पुग्यो । आव २०७६/७७ मा ३ हजार ३०९ ले बैंकिङ कसूर गरेका छन् भने चालू आवको कात्तिकसम्ममा यस्तो संख्या ६ सय २८ पुगेको छ ।

बैंकिङ कसूर तथा सजाय ऐन ९पहिलो संशोधन० २०७३ ले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने, अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, कर्जाको दुरुपयोग गर्न नहुने, बैंकिङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने, ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउनेलगायत व्यवस्था गरेको छ । उक्त ऐनले यी कामलाई बैंकिङ कसूर मानेको छ ।

पछिल्लोपटक चेक बाउन्स गर्ने प्रवृत्ति बढेको छ । यस्तो उजुरीकमो संख्या बढ्दै गएको छ । पैसा नभएको खाताको चेक दिएर ठग्ने प्रवृत्ति ९चेक बाउन्स० बढेकाले बैंकिङ कसूरका उजुरी तथा मुद्दा बढेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायत बताउँछन् । ‘इन्टरनेट तथा अनलाइनबाट पनि बैंकिङ कसूरहरू हुने गरेका छन् । बैंकिङ क्षेत्रलगायत आर्थिक अपराध गर्नेको संख्या बढेको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कडायतले भने, ‘यस्तो अपराध बढ्नुको कारण छिटो धनी हुने अभिलाषा, देखासिकी, महत्त्वाकांक्षा, बढ्दो शहरीकरण आदि हुन् ।’

साथै, बैंक कर्मचारीहरूको मिलेमतोमा समेत बैंकिङ कसूर भएका थुप्रै घटना भएको भन्दै उनले अधिकांशलाई कार्बाहीको दायरामा ल्याइसकेको जानकारी दिए । यस्तो कसूरमा प्रविधिको प्रयोग बढ्दै गएको र अधिकांश अवस्थामा व्यक्ति अप्रत्यक्ष रूपमा संलग्न हुने गरेको अध्ययनले देखाएको उनको भनाइ छ ।

बैंकिङ कसूरका ठूला र जटिल घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हेर्दै आएको छ । सीआईबीले गत कात्तिकमा मात्रै बैंकिङ कसूरको आरोपमा आधा दर्जन व्यक्तिलाई पक्राउ गरेको छ ।

सप्तरीका ३२ वर्षे सूर्यप्रसाद साहले महालक्ष्मी विकास बैंकमा रहेको खाताको १३ लाख ४१ हजार रुपैयाँ बराबरको चेक काठमाडौं विश्वविद्यालयको एभरेस्ट बैंकमा रहेको खाताको नाममा दिएको चेक बाउन्स भएको मुद्दामा सीआईबीले कसूर गर्ने साहलाई कात्तिक २४ गते पक्राउ गरेको थियो । यस्तै धादिङका ५१ वर्षीय पञ्चम अकौलियाले आफ्नो खातामा पर्याप्त रकम नभएको जानीजानी मनोजप्रसाद साहलाई झुक्याएर सापटी रकम फिर्ता गर्न एनएमबी बैंकको चेक काटेर २०७५ वैशाख २० गते दिएका थिए । यसमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनले ऐनअनुसार सजाय सुनाएकोमा फरार प्रतिवादीलाई सीआईबीले गत असोज २७ गते पक्राउ गरेको थियो । यस्तै, गोरखा जिल्लाका ५२ वर्षीय राजेशबाबु श्रेष्ठले पर्याप्त मौज्दात रकम नभएको खाताको चेक जानीजानी झुक्याएर विभिन्न बैंकको चेक काटी दिएकोमा उच्च अदालत पाटनले २०७७ जेठ ३० गते बैंकिङ कसूर ठहर गरेको थियो । यसमा फरार प्रतिवादी श्रेष्ठलाई सीआईबीले गत असोज २५ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस