aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नयाँ सुरक्षा नीतिको तयारी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १४ मंसिर २०७७
नयाँ सुरक्षा नीतिको तयारी

काठमाडौं । सरकारले मुुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा नयाँ नीति अपनाउने भएको छ । सिंहदरबारभित्र मानिसको प्रवेश र सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकलीन योजनासहित ‘सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजना, २०७७’ तयार पारिसकेको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । सिंहदरबारमा दैनिक १० हजारदेखि १५ हजार मानिस आवतजावत गर्छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाहेक सबै सङ्घीय सरकारका मन्त्रालय सिंहदरबार परिसरभित्रै छन् ।

‘‘सुरक्षाका लागि कार्ययोजना तयार भइसकेको छ’’, प्रवक्ता बुढाले थपे, ‘‘यो कार्ययोजनालाई अगाडि बढाउन सम्बन्धित मन्त्रालय र निकायको सहयोग तथा समन्वय चाहिन्छ, त्यसका लागि विभिन्न मन्त्रालय र निकायसँग राय सुझाव लिने काम भइरहेको छ । ’’

यस कार्ययोजनालाई अगाडि बढाउन धेरै निकायले जिम्मेवारी बहन गर्नुपर्ने देखिएको चर्चा गर्दै उनले भने, ‘‘विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरी अन्तिम रूप दिन बाँकी नै छ । ’’

सिंहदरबार परिसरमा निर्माण भइरहेको सङ्घीय संसद् सञ्चालनमा आइसकेपछि सिंहदरबारमा सर्वसाधारणको आवागमन झन् बाक्लो हुने भएकाले भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सो सुरक्षा कार्ययोजना ल्याइएको हो ।

गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहितको कार्यदलले सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजना, २०७७ सम्बन्धी प्रतिवेदनसमेत गृह मन्त्रालयमा बुझाइसकेको छ ।

प्रतिवेदनमा सिंहदरबारका सबै प्रवेशद्वारमा उच्च सुरक्षा प्रविधि जडान गर्नुपर्ने, सर्वसाधारण तथा सवारी साधन स्क्यानर उपकरण जडान गर्नुपर्ने, परिसरभित्र ‘सीसीटीभी’ क्यामेरा थप जडान गर्नुपर्ने, अहिलेको ‘पास सिस्टम’ लाई व्यवस्थित गर्नुपर्ने, परिसरभित्रका सवारी साधन पार्किङलाई व्यवस्थित गर्नुपर्ने लगायतका सुझाव समितिले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस