aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
महासंघ मतपरिणाम

महासंघमा क्रस भोटिङ: किशोर प्रधानलाई जे डर थियो, त्यही भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
महासंघमा क्रस भोटिङ: किशोर प्रधानलाई जे डर थियो, त्यही भयो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि भएको निर्वाचनमा चन्द्रप्रसाद ढकाल विजयी भए । उनका प्रतिद्वन्द्वी किशोर प्रधान पराजित भए ।

३ समूहबाट हुने निर्वाचनमा ढकालले वस्तुगत तथा एशोसिएट्स समूहबाट बहुमत ल्याउँदा उनले कुल मतभारको करिब ५४.२६ प्रतिशत प्राक्ष्त गर्न सफल भए । जिल्ला तथा नगर समूहबाट झिनो बहुमत ल्याएका प्रधानको कुल मतभार ४५.७४ प्रतिशतमा सीमित भयो । 

महासंघमा जिल्ला तथा नगरतर्फको हिस्सा ५० प्रतिशत हुन्छ । एशोसिएट्सतर्फ ३० प्रतिशत र वस्तुगत समूहतर्फ्र २० प्रतिशतको मतभार हु्रन्छ । 

५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ सदर भएको कुल १ सय ५ मतमध्ये ५३ मत प्रधानलाई र ५२ मत ढकाललाई गएको थियो । यो मतका आधारमा प्रधानको नाममा २५.२४ प्रतिशत मतभार गयो । चन्द्र ढकालका लागि भने २४.७६ मतभार रहन गयो । 

एशोसिएट्सको ३० प्रतिशत मतभारका लागि द्विराष्ट्रिय समूह सहितका ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ मत ल्याउँदा प्रधानले ३ सय ७५ मतमात्रै ल्याए । ३० प्रतिशतको मतभारमा यो प्रधानका लागि १२.५४ प्रतिशत मात्रै थियो । बाँकी १७.४६ प्रतिशत मतभार ढकाललाई गएको थियो । 

वस्तुगततर्फ बाँकी २० प्रतिशत मतभारका लागि वस्तुगतमा ९८ वटा सदर मत खसेको थियो । त्यसमध्ये ढकालले ५९ मत ल्याउँदा प्रधानले ३९ मत मात्रै ल्याउन सफल भए । यो हिसाबले ढकाललाई १२.९४ प्रतिशत मतभार प्राप्त हुँदा प्रधानलाई ७.०६ प्रतिशत मात्रै मतभार प्राप्त भयो ।

प्रधानलाई जे डर थियो त्यही भयो

महासंघमा व्यक्तित्वका हिसाबले प्रधानलाई कमजोर नै मानिन्थ्यो । उनले आफ्नो सबल पक्ष आफ्नो टीममा भएको बताउँदै आएका थिए । यसको अर्थ उनको टीममा भएका योग्य उम्मेदवारकै कारण आफू वरिष्ठ उपाध्यक्षमा जित्ने उनको विश्वास थियो । 

त्यसो त उनी आफ्नो विश्वासबाट बेला बेलामा विस्मित समेत हुने गरेका थिए । महासंघका सदस्यहरु व्यक्तिगत रुपमा आफूलाई मात्रै भोट माग्ने गरेको आशंका उनले नगरेका होइनन् । प्रधानको यही आशंकाका कारण प्रत्येक उम्मेदवारले प्रत्येक कार्यक्रममा व्यक्तिगत रुपमा भन्दा टीमलाई बढी भोट माग्नुपरेको थियो । 

तर, प्रधानलाई जे कुराको डर थियो, त्यही भयो । उपाध्यक्षहरुमा मतदाताले जसलाई मत हाले, वरिष्ठ उपाध्यक्षमा पनि त्यही प्यानलका उम्मेदवारलाई भोट हालिदिएको भए यतिबेला प्रधानले विजयको माला पहिरिएका हुन्थे । 

जिल्ला तथा नगरतर्फको निर्वाचनमा दिनेश श्रेष्ठले ५८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी गुणनिधि तिवारीले ४७ मतमात्रै ल्याएका थिए । यो मत आएको भए उनको भार २७.६१ प्रतिशत हुने थियो । 

त्यस्तै, वस्तुगततर्फ अञ्जन श्रेष्ठले ६२ मत ल्याउँदा उमेशलाल श्रेष्ठले ३७ मत ल्याएका थिए । अञ्जनको सबै मत प्रधानलाई प्राप्त भएको थियो १२.५२ प्रतिशत मतभार प्राप्त हुन्थ्यो । 

उता, एशोसिएट्तर्फको निर्वाचनमा झनो मतान्तरको मात्रै फरकले रामचन्द्र सांघाई विजयी भए । सांघाईले ४ सय ५५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४ सय ३७ मत ल्याए । यदि ज्योतिको यो मत प्रधानलाई प्राप्त भएको थियो भने ३० प्रतिशत मतभार रहेको यो समूहबाट प्रधानलाई १४.७० प्रतिशत मतभार प्राप्त हुन्थ्यो । 

यी तीनवटै मतभार गणना गर्दा ५४.८३ प्रतिशत मत आउँथ्यो जुन विजयको लागि पर्याप्त थियो । तर, लोकप्रिय मतका कारण २ जना उपाध्यक्ष गुमाउँदा पनि ढकालले वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् । लोकप्रियताको आधारमा प्रधान कमजोर र ढकाल बलियो यसकारण पनि मान्न सकिन्छ कि प्रत्येक समूहमा ढकाल उपाध्यक्षहरुभन्दा बलियो देखिए भने प्रधान कमजोर ।

प्रतिक्रिया दिनुहोस