aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने स्पष्ट पारेका हुन् ।

मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ । 

मन्त्री गुरूङले भने, ‘हालै सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक र पूर्वाग्रहबाट प्रेरित तथा खोज अनुसन्धानविनै मनोगत धारणाबाट आएकोले सरकार अस्वीकार गर्दछ।’ 

यस्ता पूर्वाग्रहपूर्ण प्रतिवेदन सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीप्रति भ्रम छर्ने खालको भएकोले अस्वीकार गर्ने उनले बताएका छन्।  ‘आधारविहीन र तथ्यहीन प्रतिवेदन आएको छ,’ उनले भने, ‘यो आफैंमा विवादित छ। तीन करोड जनसंख्यामा एक हजार जनालाई टेलिफोनबाट जानकारी लिएको आधारमा प्रतिवेदन तयार पारिएको छ।’

सरकार विरोधीलाई सोधेर प्रतिवेदन तयार पारेको आरोपसमेत उनले लगाएका छन्।  ‘सरकारविरूद्ध मिसनका रूपमा प्रचार सामग्री तथा प्रतिवेदन तयार पारिएको छ। सरकारलाई बदनाम गर्न खोजिएको छ,’ उनले भने, ‘प्रतिक्रियावादीहरूले कतै शीर ठाडो पार्न यस्ता प्रतिवेदन तयार भएको त होइन ?’ 

खोज तथा अनुसन्धानविना र प्रमाणित नभएका तथ्यहीन प्रतिवेदन नियोजित ढंगबाट आएकोले सरकारले असहमति राखेको मन्त्री गुरूङले बताए। ‘आफैंमा विवादित प्रतिवेदन सरकार अस्वीकार गर्छ,’ उनले भने। सरकारले गरेको समृद्धिको यात्रा अस्वीकार गर्ने, सरकारविरोधीले तयार पारेको प्रतिवेदन अस्वीकार गर्ने उनले बताए। प्रतिवेदन तयार पार्ने व्यक्ति राजनीतिक रूपमा चिनिएको मानिस भएकोले पनि सरकारले प्रतिवेदन अस्वीकार गरेको उनले बताए। 

रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस