
काठमाडौं । गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । वर्तमान अध्यक्ष भवानी राणाले आइतबार साँझ गोल्छा नेतृत्वको समितिलाई कार्यभार सुम्पिएकी हुन् ।
गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले उनी महासंघको नेतृत्वमा पुगेका हुन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकाल पनि भावी अध्यक्ष हुन् ।
महासंघको नयाँ कार्यसमितिमा जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ बनेका छन् भने वस्तुगततर्फ रामचन्द्र संघई र वस्तुगततर्फ अन्जन श्रेष्ठ विजयी भएका छन् । उनीहरू सबैले आज पदभार सम्हालेका हुन् । र अन्य सदस्यको शपथ भने महासंघको अर्को बैठकले तोक्नेछ ।
शेखर अध्यक्ष बनेपछि गोल्छा परिवारको महासंघको नेतृत्व गर्ने सपना पुरा भएको भएको छ । २०५० सालमै महासंघको अध्यक्षको निर्वाचन लड्ने तयारी हुलासचन्द गोल्छाले गरेका थिए । त्यतिबेला अस्वस्थता कारण हुलासचन्द (शेखरका बाबु) ले अध्यक्षको पदका लागि निर्वाचन लडन पाएनन् र विनोद चौधरी निर्विरोध अध्यक्ष बने ।
त्यसको डेढ दशक पछि दिवाकर गोल्छा महासंघको अध्यक्ष बन्ने लाइनमा थिए । तर, त्यति बेला पनि कुशकुमार जोशी अध्यक्ष बने । दिवाकर गोल्छा महासंघबाट बाहिरिएको वर्ष शेखर गोल्छा महासंघमा कार्यकारिणी सदस्यमा चुनिए ।
एसोसियट उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै शेखर गोल्छाले ५४ वर्षे इतिहास बोकेको र निजी क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठि संस्थाको अध्यक्ष बनेर यो संस्थालाई हाक्दै छन् । उनले आफ्नो कार्यकाललाई सफल बनाउन १० वर्षे रणनीति समेम बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस