काठमाडौं । पार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् । आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ ।
यो सिलसिलाले मंगलबार पनि निरन्तरता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि दोषारोपण गर्दै यसअघि पेस गरेका प्रस्तावहरुलाई के गर्ने भन्नेमा विवाद हुँदा बाझाबाझको स्थिति बन्यो । ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आउँदो महाधिवेशनसम्म कुनै पनि निर्णय बहुमत अल्पमतबाट नहुने दोहोर्याए । बहुमतबाट हुने निर्णय मान्न आफू तयार नरहेको भन्दै उनले बुधबारको बैठकमा उपस्थित नहुने जानकारीसमेत गराए ।
असन्तुष्ट नेताहरुले पार्टीको विधि, पद्धतिअनुरुप आएका प्रस्तावमा छिनोफानो गर्नुपर्ने भन्दै ओलीमाथि दबाब दिए । अधिकांश नेताले प्रस्तावका विषयलाई छलफलबाटै टुंग्याउनुपर्ने बताए भने ओली र उनी पक्षधरले बैठकबाट मात्र निकास नआउने भन्दै अनौपचारिक संवाद गर्नुपर्नेमा जोड दिए । महासचिव विष्णु पौडेलको जन्म दिन मनाएर आआफ्नो आसनमा बसेलगत्तै अध्यक्षद्वयबीच तिक्ततापूर्ण संवाद सुरू भएको थियो । त्यसपछि अरु नेता बोलेका थिए । बैठकमा नेताहरुबीचको संवाद र घोचपेचको शैली कस्तो थियो ? सहभागी केही नेताले करिब २ घण्टाको उक्त बैठकमा आएका अभिव्यक्तिको मुख्य सार यस्तो रहेको सुनाएः
केपी शर्मा ओली
तपाईंको प्रस्तावमा छलफल हुन सक्दैन, फिर्ता लिनुस् । दोस्रो, तपाईंले पार्टीको पद्धति, तरिका र विधान सबै उल्लंघन गर्नुभएको छ, तपाईंको निजी प्रस्ताव केन्द्रीय कार्यालयबाट छाप्ने र लोगो प्रयोग गर्ने कुरा पार्टीको पद्धति र अनुशासनविपरीत छ । पार्टीको अनुशासन उल्लंघन गरेकामा तपाईंमाथि कारबाही किन नगर्ने ? मैले यसअघि पनि भनेको छु, आज पनि भन्छु, प्रस्तावका नाममा ल्याएको आरोपपत्र फिर्ता गर्नुस्, क्षमायाचना गर्नुस् अनि बल्ल बैठक बस्छ । तपाईको प्रस्ताव रिस, आवेग, कुण्ठा, द्वेष र लाञ्छनाले भरिएको छ, यो कुनै प्रस्ताव होइन । पार्टीलाई कता लैजाने, आफूहरू कता जाने भनेर तपाईंहरूको नियत स्पष्टै देखिन्छ । विभाजन, विखण्डन र सर्वनाशको बाटोमा तपाईंहरू जाँदै हुनुहुन्छ । मेरो कर्तव्य पार्टीलाई एकतातर्फ लैजाने र जोगाउने हो, त्यसका लागि नै मैले भूमिका खेल्छु । भोलिको बैठक तयारी गरेर पछि गरौं भन्ने मेरो प्रस्ताव हो ।
पहिले अनौपचारिक छलफल गरेर कम्तीमा महाधिवेशनसम्म सहमतिबाट जानुपर्छ । विधि र पद्धतिको आडमा बहुमतले गरेको निर्णय मानिन्न, बहुमतबाटै जाने हो भने केन्द्रीय कमिटीको बैठक २५ गतेसम्म किन कुर्नुपर्यो, आजै बसेर छिनोफानो गरे भइहाल्यो नि । तपाईंहरूले जबर्जस्ती नै बैठक राख्नुहुन्छ भने भोलिको बैठकमा आउनका लागि मेरो फुर्सद छैन । यस्ता बैठकको के काम ?
पुष्पकमल दाहाल
पार्टीको अन्तरसंघर्षलाई यो स्थितिमा पुर्याउन भूमिका खेल्नुभएको छ । अहिलेको विवादको फायर तपाईंले नै खोल्नुभएको हो । सचिवालय बैठक बोलाउन हामीले आग्रह गरेर लेखेको पत्र बुझाउन जाँदा कति अपमान गर्नुभयो ? सबै कुरा पद्धतिमै हुन्छ भन्दै तोक लगाउनुभयो । बैठक बोलाउनुको सट्टा उल्टै लाञ्छना लगाउनुभयो, हामीलाई अपमान गर्नुभयो । केपीजी, तपाईं असाध्यै व्यक्तिवादी र कुण्ठाग्रस्त मान्छे हो, तपाईंमा ‘आई एम द स्टेट’ भन्ने भाव छ । बालुवाटारमा बसेर पार्टी फुटको कदम धेरै पटक चाल्नुभएको छ ।
देशव्यापी गुट भेला, मदन भण्डारी फाउन्डेसनका कार्यक्रम, एमाले दल दर्ता र पार्टी विभाजनको अध्यादेश ल्याएर फुटतिर लैजाने काम तपाईंबाट भएको छ । अहिले पनि तपाईंले मलाई र अरू साथीहरूलाई उत्तेजित पार्न खोजिरहनुभएको छ । यिनीहरूले उत्तेजित भएर अभिव्यक्ति दिउन् भनेर लागिरहनुभएको छ, तर हामी उत्तेजित हुन्नौं ।
तपाईं कि म रहन्न, कि प्रचण्ड रहन्न भन्दै हिँड्नुहुन्छ, फेरि आफूलाई पार्टी एकताको पक्षमा रहेको देखाउनुहुन्छ, यो कसरी मिल्यो रु प्रस्तावमाथि छलफल गर्न दिन्न भन्ने तपाईं को हो रु यसो गर, उसो गर भनेर तपाईंले निर्देशन दिने, मैले खुरुक्क मान्ने भन्ने हुन्छ रु अनौपचारिक छलफल पनि गर्दै गरौंला, पूर्वनिर्धारित बैठक रोकिँदैनन् । थप छलफलका लागि भोलि (बुधबार) १ बजे बैठक राखौं ।
माधवकुमार नेपाल
तपाईं (ओली) ले अध्यक्षबीचको एकता हो भने, जुन धारणासँग म पहिले पनि असहमत थिएँ, अहिले पनि असहमति राख्छु । पहिले मदन भण्डारी र मनमोहन अधिकारीबीचको एकता हो कि मार्क्सवादी र मालेबीचको एकता हो रु एकतामा सहमत हुनेहरू पार्टीभित्रै रहन सक्छन्, सहमति नभएपछि छाडेर हिँड्छन् । आफ्नो कारण मात्रै एकता भएको भनिरहनुभएको छ, यही तपाईंको व्यक्तिवाद हो, मेरो सहमति भयो भने सहमति हुन्छ भन्ने तपाईंको अधिनायकवादी चिन्तन हो ।
एउटा अध्यक्षले बैठक स्थगित गर्दा लोकतान्त्रिक काम हुने, अर्कोले गर्दा नाजायज भन्ने हुन्छ ? पार्टीभित्र सबै विषयमा छलफल गरौं । बैठक नै बोलाउँदिनँ, म नभए पार्टी फुट्छ भन्ने तपाईंको धारणा नै गलत छ । महाधिवेशनबाट सबै कुराको टुंगो लगाउँछु भन्ने पनि गलत हो । हामीले ०४९ साल माघमा तत्कालीन माले र मार्क्सवादीको महाधिवेशन गरेका थियौं । त्यो बेला के भएको थियो ? सम्झिनुस् त । महाधिवेशनसम्म यसो गरेर जाऔं भनिएको थियो ? अहिले पार्टी पुरानो अवस्थामा फर्काउँछु भनेर सम्भव छैन । सार्वभौम अधिकार केन्द्रीय कमिटीमा हुन्छ । सिस्टम भनेकै त्यही हो । कमिटीमा छलफल गरौं, तपाईंको धारणा पास हुन्छ कि अरूको धारणा पास हुन्छ, त्यहाँ हेरौं । कमिटीको बैठक एक्लै रोक्ने र एकता बचायौं भन्ने ? एकलौटी गरेको कामलाई हामीले अनुमोदन गर्ने ? ल्याप्चे लगाउने मान्छे हौं हामी ? तपाईंहरू दुई अध्यक्ष र महासचिवको एउटै राय भए पनि कमिटीको राय हुँदैनथ्यो ।
कमिटीको बैठक बोलाउने पनि सीमा छ, सात दिनमा अनिवार्य बैठक बस्ने भनेर तोक्नु आवश्यक छ । आफूसँग सहमत नहुनेबित्तिकै बैठक बस्दिन भन्न पाइन्छ ? तपाईंले बारम्बार पाँच जना भनेर कुरा उठाउनुहुन्छ, ती पाँच जना तपाईंको विरुद्धमा किन लागे भनेर आफ्नो कमजोरी खोज्नु हुन्न । पहिलो फायर सुरु गर्ने तपाईं हो । पाँच जनाले बैठक बोलाऔं भन्न जाँदा प्रक्रियाबाट हुन्छ, मैले तोक लगाइदिन्छु भन्ने तपाईं होइन ? हामीले बैठक तपाईंकै सहमतिले बोलाएको हैन ? बैठक टारेर जाने काम गर्नु हुन्न । यसअघि प्रचण्ड कमरेडका केही मान्छे तपाईंको केही मान्छे भनेर गुटबन्दी गरेको हैन रु अहिले पार्टी फुट्नै लाग्यो भनेर दबाब सिर्जना गर्न मिल्छ ?
झलनाथ खनाल
हाम्रो पार्टीमा देखिएको अन्तरविरोध र समस्याको जड नै गलत नीतिलाई अघि सार्नु हो । तपाईंहरूले सुरुदेखि नै सहमति कि सहमति भन्नुभयो । सहमति भन्ने पनि कतै लाइन हुन्छ रु सहमति त कसैले चाह्यो भने न हुन्छ, जबर्जस्ती पनि हुन्छ रु सहमति भएन भने बहुमतबाट जाने पार्टीको विधि, पद्धति त छँदै छ नि, पार्टीको पद्धति मानौं र यो सहमतिको नीतिले ल्याएको संकटलाई सच्याऔं ।
ईश्वर पोखरेल
प्रस्ताव आएपछि अब छलफल हुन्न र गर्दिन भन्न मिल्दैन । छलफल हुन त दिनुपर्यो । तर बैठकका लागि बैठक राख्ने काम गरेर निष्कर्ष निस्किन्न । अनौपचारिक संवाद गरौं अनि बल्ल बैठक राखौं
वामदेव गौतम
केपीजी र प्रचण्डजीले पेस गर्नुभएको प्रस्तावमाथिको छलफल बैठकमा प्रवेश गरिसक्यो । हामी छलफल गरेरै टुंगोमा पुग्नुपर्छ । प्रस्तावहरूमाथि अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि गरौं, औपचारिक छलफल पनि गरौं, यसरी छलफल गर्दा के निष्कर्ष निकाल्न सकिन्छ, हेरौं ।
नारायणकाजी श्रेष्ठ
अनौपचारिक छलफल गर्नैपर्छ । निष्कर्ष निकाल्न अनौपचारिक छलफल पनि चलाउनुपर्छ । तर त्यसो भन्दैमा औपचारिक बैठक रोक्नु हुन्न । हामीले अनौपचारिक र औपचारिक दुवै किसिमले छलफल चलाएर जाऔं, पार्टी एकताको पक्षमा निर्णय गरौं । तर पार्टीको औपचारिक बैठकमा पेस भएको प्रस्तावलाई मान्दिन, छलफल गर्दिन र खारेज गर्छौं भन्न मिल्दैन । बैठकको एजेन्डा प्रस्तावहरूमाथि छलफल गर्ने हुनुपर्छ, छलफलबाटै निचोड निस्किनुपर्छ ।
रामबहादुर थापा
दुई अध्यक्षबीच छलफल नभई यसरी पार्टीको औपचारिक बैठकमा लिखित प्रस्ताव ल्याउनै हुँदैनथ्यो, आइहालेपछि अब छलफल गर्दिन भन्न मिल्दैन । प्रस्तावहरूमाथि छलफल गरौं र निचोड निकालौं ।
विष्णु पौडेल
पार्टीका दुवै अध्यक्षले पेस गर्नुभएको प्रस्तावमाथि छलफल गरौं र नगरौं भन्नेमा मेरो केही पनि मत छैन ।
प्रतिक्रिया दिनुहोस