aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

जनक शिक्षाले छाप्यो ७ करोड चुरोटमा टाँस्ने स्टिकर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
जनक शिक्षाले छाप्यो ७ करोड चुरोटमा टाँस्ने स्टिकर

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रले चुरोटको बट्टामा टाँस्ने ७ करोड स्टिकर छापेको छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्कको स्टिकर टाँस्ने जिम्मा दिएसँगै केन्द्रले सो परिमाणमा स्टिकर छापेको विभागले जानकारी दिएको छ । विभागले केन्द्रलाई ६९ करोड पिस स्टिकर छपाइको जिम्मा दिएको छ । केन्द्रले अहिले धमाधम स्टिकर छपाइको काम गरिरहेको विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले बताए ।  केन्द्रले चुरोटमा प्रयोग हुने चार प्रकारका स्टिकर छपाइको काम गरिरहेको छ ।  

आन्तरिक राजस्व विभागले ११ करोड रुपैयाँ मूल्य बराबरको चुरोटको बट्टामा टाँस्ने स्टिकर छाप्न दिएका हौं, विभागका सूचना अधिकारी अजुन दाहालले बताए । चुरोटको बट्टामा टाँसिने उक्त स्टिकर प्रतिपिसको मूल्य अभिवृद्धि कर बाहेक १४ पैसा पर्ने विभागले जनाएको छ । खपतको आधारमा स्टिकर छाप्ने गरेको उनले बताए । अहिले छाप्न दिएको स्टिकरले१ वर्षलाई धान्ने दाहालले बताए । 

यो मूल्य विदेशी कम्पनीले दिने मूल्य बराबर नै हो । विभागले स्टिकर खरीद प्रक्रियामा ग्लोबल टेण्डर आह्वान गरे पनि इन्डोनेशियाली कम्पनीले धोका दिएपछि केन्द्रलाई छपाइको जिम्मा दिएको थियो । केन्द्रले छोटो समयमै भारतबाट कागज र मसी झिकाएर स्टिकर छपाइ  गरेको हो ।

तर केन्द्रले अहिले छाप्दै गरेको स्टिकर मदिराको लागि होइन । मदिराको लागि त स्टिकर टाँस्ने काम नै अघि बढ्न सकेको छैन । त्यसैले आन्तरिक राजस्व विभागले मदिराको बोतलमा टाँस्ने स्टिकर किफायत गर्न वियरको बोतलको सट्टा कार्टुनमा नै अन्तःशुल्क स्टिकर टाँस्ने नीति अघि सारेको छ । अन्तःशुल्क स्टिकरको भण्डारण सकिँदै गएपछि आन्तरिक राजस्व विभागले ३३० मिलिलिटर क्षमताको वियरको बोतलको सट्टा कार्टुनकै तल र माथि स्टिकर टाँस गर्ने निर्णय गरेको विभागका उपमहानिर्देशक पाण्डेले बताए । विभागले कर कार्यालयलाई यसबारे परिपत्र गरिसकेको छ । 

आन्तरिक राजस्व विभागका अनुसार ७५० मिलिलिटरको बोतल र ५०० मिलिलिटरको क्यानमा भने बोटलमा नै स्टिकर टाँसिनेछ । विगत ३ वर्षदेखि वियरका बोतलमा नै स्टिकर टाँसिने गरेको भएपनि अब भने पूरानै अवस्थामा फर्किनुपर्ने अवस्था आएको छ । वियरको एउटा कार्टुनमा ११० रुपैयाँको अन्तशुल्कको स्टिकर टाँस्नु पर्नेछ । सन् २०१६ मा इन्डोनेसियाको पेरुम कम्पनीले नेपालको अन्तःशुल्क स्टिकर छापेको थियो ।

प्रतिक्रिया दिनुहोस