काठमाडौं । कोरोना बीमाको मागदाबी भुक्तानी अझै पनि तोकिएको समयमा नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो निर्देशन दिएको हो ।
अर्थ मन्त्रालयले बीमा समितिमार्फत यस्तो निर्देशन दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । अब यस सम्बन्धमा बीमा समितिले बीमा कम्पनीहरूका लागि छुट्टै निर्देशन जारी गर्नुपर्ने हुन्छ ।
कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएपछि अर्थ मन्त्रालयले कात्तिक १८ गते बीमा समितिमार्फत ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको थियो । तर, अझै पनि बीमा कम्पनीहरूले तोकिएको समयमा भुक्तानी दिएका छैनन् । त्यसपछि मन्त्रालयले अहिले ३ दिनभित्र नै दाबी भुक्तानी दिन निर्देशन दिएको हो ।
कोरोना बीमा दाबी भुक्तानीमा गुनासो बढ्दै गएपछि सरकारले यस विषयमा चासो लिएको उनको भनाइ छ । मापदण्डअनुसार प्रक्रिया पुगेको दाबीहरूको भुक्तानी ३ दिनभित्र नै दिनुपर्ने मन्त्रालयको निर्देशिन छ । साथै, त्यसको जानकारी दैनिक रूपमा मन्त्रालयलाई पनि गराउनुपर्ने बताइएको छ ।
यस्तै, भेरिफिकेशन गर्न बाँकी आवेदनलाई पनि यथाशीघ्र सम्पन्न गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । यसबाहेक कोरोना बीमा गर्ने व्यक्तिको संख्या, दाबी गर्नेको संख्यालगायत विवरण अर्थ मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस