काठमाडौं । भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।
नगर प्रमुख ढकालले भने, ‘‘गुरुयोजना तयार भई डीपीआर निर्माणको काम सुरु भइसकेको छ, छिट्टै नै प्रतिवेदन आउने छ ।’’ प्रधानमन्त्री ओलीको निर्देशनमा अयोध्याधाम निर्माणको कामलाई तीव्रता प्रदान गरिएको बताउँदै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा अयोध्याधाम निर्माणको डीपीआरलगायत समग्र आयोजना अगाडि बढाइएको स्पष्ट पारे।
अर्को वर्ष २०७८ सालको चैततिर पर्ने रामनवमीका अवसरमा भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अनावरण गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीबाट निर्देशन भएको बताउँदै नगर प्रमुख ढकालले निर्देशनबमोजिम काम अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार डीपीआर तयार हुनेबित्तिकै मन्दिर निर्माणको बोलपत्र आह्वान गरिने छ । प्रधानमन्त्रीको चाहनाबमोजिम अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिने सो मन्दिरका लागि करिब १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क निर्माण गरिने उनले बताए । अयोध्याधाम निर्माणका लागि नगरपालिकाले एक सय बिघा जग्गा सो धामको नाममा हस्तान्तरण गर्ने निर्णय गरी यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइसकिएको जानकारी नगर प्रमुख ढकालले दिए । त्यसैगरी, नगरपालिकाको वडा नं.८ मा रहेको ५० बिघा जग्गा अयोध्याधामलाई उपलब्ध गराउने निर्णय नगरपालिकाले गरिसकेको उनले जानकारी दिए ।
साउन २४ गते बालुवाटारमा माडी नगरपालिकाका प्रमुख ढकालसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले तथ्य प्रमाणको आधारमा सो ठाउँको विकासका लागि गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी भगवान् श्रीरामको भव्य मन्दिर निर्माण गर्न तथा सो ठाउँलाई बृहत् अयोध्याधामका रूपमा निर्माणलाई अगाडि बढाउन निर्देशन दिएका थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परीवर्तन गरी अयोध्यापुरी राख्न नगर प्रमुख ढकाललाई निर्देशन दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा गत असार २९ गते आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको चर्चा गरेपछि यस विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको थियो ।
प्रतिक्रिया दिनुहोस