aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बौद्धिक सम्पत्तिको रोयल्टी एक अर्ब बाहिरियो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २१ मंसिर २०७७
बौद्धिक सम्पत्तिको रोयल्टी एक अर्ब बाहिरियो

काठमाडौं । ट्रेडमार्क, पेटेन्ट, डिजाइनजस्ता बौद्धिक सम्पत्तिको प्रयोगबापत नेपालबाट ठूलो रकम बाहिरिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामै बौद्धिक सम्पत्तिको प्रयोग गरेबापत एक अर्ब २० करोड रुपियाँ नेपालबाट विदेश गएको छ । गत आवको सोही अवधिसम्म छ करोड ५० लाख रुपियाँ नेपालबाट बाहिरिएको तथ्याङ्कले देखाउँछ ।

खासगरी विदेशका चर्चित ब्रान्डहरूको उपयोग गर्दा त्यसको रोयल्टी सम्बन्धित देशको कम्पनीलाई भुक्तानी गर्नुपर्ने हुन्छ । नेपालबाट यस्तो रोयल्टीमध्ये अधिकांश हिस्सा ट्रेडमार्ककै उपयोगबापत बाहिरिन्छ । नेपालमा बलियो उपस्थिति भएका बहुराष्ट्रिय कम्पनीहरूले कानुनमा भएको सुविधा प्रयोग गर्दै पछिल्लो समय ट्रेडमार्कको समेत रोयल्टी लैजान थालेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले प्रविधि हस्तान्तरणअन्तर्गत पर्ने यस्ता बौद्धिक सम्पत्तिको लगानीबापत रोयल्टी फिर्ता लैजानसक्ने व्यवस्था गरेको छ । 

ऐनको दफा २० को उपदफा २ (घ) ले प्रविधि हस्तान्तरण सम्झौताअन्तर्गत प्राप्त लाभ (रोयल्टी)बापतको रकम विदेशी लगानीकर्ताले लैजान सक्ने उल्लेख गरेको छ । यद्यपि ‘शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योगबाहेक अन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको टे«डमार्क उपयोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभबापतको रकम प्रचलित करबाहेकको कुल बिक्री मूल्यको तोकिएबमोजिमको ५ प्रतिशतभन्दा बढी नहुने’ ऐनमा प्रस्ट उल्लेख छ । 

बौद्धिक सम्पत्तिको उपयोग र त्यसको रोयल्टी फिर्ता सम्बन्धमा अघिल्लो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ को तुलनामा परिमार्जित पछिल्लो ऐनले स्पष्ट व्यवस्था गरेका कारण पनि लगानीकर्तालाई रोयल्टी फिर्ता लैजान थप सहयोग पुगेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ कार्यान्वयनमा आएको आर्थिक वर्ष अर्थात् २०७५र७६ को पहिलो तीन महिनामा मात्रै १० करोड ४७ लाख रुपियाँ बौद्धिक सम्पत्तिको प्रयोगबापत बाहिरिएको छ । सोही वर्ष नेपालले पनि यस किसिमको रोयल्टी प्राप्त गरेको देखिन्छ । त्यतिबेला एक करोड ३९ लाख रुपियाँ रोयल्टीबापत नेपाल भित्रिएको तथ्याङ्कले देखाउँछ । त्यसपछिका पछिल्ला आर्थिक वर्षहरूको समीक्षा अवधिसम्म भने नेपालले त्यस्तो रोयल्टी पाएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस