
काठमाडौैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार आर्थिक पत्रकारहरुका लागि पुँजी बजारसम्बन्धी प्रशिक्षण दिएको छ । आर्थिक पत्रकार संघ (नाफिज) को समन्वयमा पुँजी बजारका क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुका लागि नेप्सेले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
विभिन्न सञ्चार माध्यमबाट ४० जनाभन्दा बढी आर्थिक पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज र यसको कारोबार प्रणालीका विषयमा प्रशिक्षण दिइएको थियो । साथै पुँजीबजारका विषयमा समाचार लेख्दा ध्यान दिनुपर्ने कुरालाई पनि प्रष्ट पारिएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रमको सहजीकरण नेप्सेका वरिष्ट आईटी अधिकृत प्रभाकर घिमिरे, कायममुकायम प्रबन्धक निरञ्जन फुयाँल र कायम मुकायम सहायक प्रबन्धक मुराहरी पराजुलीले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा स्वागत गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालको पुँजीबजारको विकास भइरहेको उल्लेख गर्दै यसका लागि सञ्चार माध्यमहरुले ठूलो भूमिका निर्वाह गरेको बताए ।
विश्वव्यापी रुपमा पहुँच विस्तार गर्दै लागू गरिएको अनलाइन प्रणालीले गति लिर्दै गएको जानकारी गराउँदै उनले यस प्रणालीमा करिब ९ हजार लगानीकर्ता सहभागी भइसकेको प्रष्ट पारे । पुँजीबजारको थप विकासका निम्ति नेप्सेले प्रयास जारी राखेको बताउँदै मार्जिक कारोबार प्रणाली लागू गर्ने अन्तिम चरणमा पुगेको जानकारी दिए । आगामी आर्थिक वर्षभित्र फाइनान्सियल डेरिभेटिम मार्केट ल्याउन नेप्सेले पहल गर्ने साउदले बताए ।
संघको आग्रहलाई सकारात्मक रुपमा लिई प्रशिक्षण कार्यक्रमको आयोजना गरेकोमा नाफिजका अध्यक्ष सिताराम भट्टराईले यो सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । कार्यक्रममा सहभागीहरुलाई सुझाब दिँदै अध्यक्ष भट्टराईले हामीले लेखेका समाचारले १५ लाख लगानीकर्ताको सम्पत्तिमा असर गर्ने बताउँदै संवेदनशील भएर सूचना प्रवाह गर्न अनुरोध गरे । नेप्सेले उपत्यका बाहिरका पत्रकारहरुका लागि यसअघि प्रशिक्षण कार्यक्रम आयोजना गरे पनि उपत्यकाभित्रका पत्रकारहरुका लागि पहिलोपटक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस