
पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुप्रै नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पुर्याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन ।
अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो ।
वैदेशिक रोजगारीका लागि इटाली लैजाने भन्दै लिबिया पु-याएर १५ युवालाई अलपत्र बनाउने गिरोहका दुईजना पनि पक्राउ परेका छन् । मावन बेचबिखन नियन्त्रण ब्युरोले राहुल गहतराज, तीर्थबहादुर विश्वकर्माजस्ता उपनाम भएका राहुल थापा र कमल भन्ने लोकमान राईलाई प्रहरीले पक्राउ गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस