
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनमा चासो देखाएका छन् । बुधबार बेलुका उद्योगी व्यवसायीसँगको भेटमा प्रमले यस्तो चासो देखाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बालुवाटारमा बोलाएर बधाई दिँदै प्रधानमन्त्री ओलीले भने ‘महासंघको वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधानमा परिवर्तन गर्दा उपयुक्त हुन्छ ।’
‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानलाई परिवर्तन गरेर अध्यक्षमा निर्वाचन गर्ने प्रणालीलाई ल्याउँदा उपयुक्त हुन्छ,’ प्रम ओलीले भने ‘तर दुई कार्यकाल पछि मात्रै सो प्रावधना कार्यान्वयन हुने गरी विधान संशोधन गर्दा उपयुक्त हुन्छ ।’
बेलुका ८ बजेदेखि १० बजेसम्म भएको भेटमा प्रमले स्वदेशमा बन्नसक्ने वस्तु उत्पादन गर्न आग्रह गर्दै स्वदेशी उद्योग प्रवद्र्धन गर्न सरकार सधै तयार रहेको बताए । साथै प्रमले व्यवसायिक संस्था एकीकृत भएर अगाडि बढ्न सुझाव दिएका थिए ।
एफएनसीसीआई, सिएनआई र चेम्बर फरक फरक रुपमा हिडिरहेको टिप्पणी पनि उनले गरे । निजी उद्यम व्यवसाय गर्ने संस्था एक्कै भएर अगाडि बढेमा राम्रो हुन्छ,’ प्रमले भेटमा भनेका थिए ।
प्रम ओलीले सबै पदाधिकारीलाई बधाई दिए । महासंघ अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र निवर्तमान अध्यक्ष भवानी राणा र पशुपति मुरारकालाई नामै लिएर प्रमले बधाई दिएका थिए । निर्वाचनबाट आफ्नो भनाइ शुरु गरेका उनले भने ‘तपाइँहरुको चुनाब हाम्रो भन्दा पनि ठूलो हुने रहेछ । चुनाबमा तामझाम पनि राम्रै भएको देखियो’। ओलीले बधाइ दिँदै सबैलाई मिठाइ वितरण गर्न लगाएका थिए ।
भेटमा नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले व्यवसायिक वातावरण र लगानी सुरक्षामा सरकारले विशेष ध्यान दिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस