काठमाडौं । आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहण लगायतका समस्या समाधानसँगै बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को निर्माण कार्यले गति लिएको सो आयोजनाले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराउँदै आयोजना प्रमुख युवक डङ्गोलले सन् २०२१ अप्रिलसम्म निर्माण सम्पन्न भई काठमाडौँमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसक्नेछ भने ।
उनका अनुसार अहिले बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । कुल एक अर्ब ६६ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत रहेको छ ।
विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो । सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास भए पनि जग्गा अधिग्रहण, कानुनी झन्झट तथा स्थानीयवासीको अवरोधका कारण केही समय ढिलो भएको हो । अवरोध, कोरोना महामारीले भएको बन्दाबन्दीका कारण निर्माण सम्पन्न गर्ने म्याद छ/छ महिना गरी दुईपटक थप गर्नुपरेको उनले बताए । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने योजना सरकारको छ ।
मुलुकको व्यापार प्र्रवद्र्धन गर्न अहिले ‘लजेस्टिक’ व्यवस्थापन समस्या रहेकाले समाधान गर्न चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण कार्य तीव्र पारेको उनले बताए । स्थानीयवासीको सहयोग र समर्थनमा नै बन्दरगाह निर्माण कार्य तीव्र बनाइएको उनले स्पष्ट पारे । अब स्थानीय नागरिकबाट कुनै किसिमको अवरोध वा गुनासो नरहेको उनले बताए ।
बन्दरगाह संरचनाको निर्माण कार्य सम्पन्न भई ‘फिनिसिङ’ को काम भइरहेको आयोजना प्रमुख डङ्गोलले जानकारी दिनुभयो । अहिले प्रशासनिक भवन निर्माण, घेराबारा गर्ने काम सम्पन्न भइसकेको छ । त्यसैगरी बन्दरगाहको मुख्य कामको रूपमा रहेको ‘बेस’ र भवन निर्माण, भण्डारण गरिने भवन, बन्दरगाहको भन्सार भवनको निर्माण सम्पन्न भइसकेको छ । उनका अनुसार अहिले ट्रक लगायतका सवारी साधनको पार्किङ निर्माण कार्य भइरहेको छ ।
बन्दरगाहको निर्माण कार्य ‘इन्टरनेसनल कन्ट्रयाक्ट बिडिङ (आईसीबी)’ र ‘नेसनल कन्ट्रयाक्ट बिडिङ ढएनसीबी)’ बाट भइरहेको छ । ‘आईसीबी’ अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङ्ची आरसी ९जेभी० ले र ‘एनसीबी’ अन्तर्गत लुम्बिनी न्यौपाने बिल्डर्स (जेभी) ले निर्माणको जिम्मा पाएका छन् । सुक्खा बन्दरगाह सञ्चालनले भन्सार प्रक्रिया सहज बनाउनुका साथै ‘क्वारेन्टाइन’ जाँच गर्न एकै ठाउँबाट सेवा उपलब्ध हुनेछ । यसले व्यापार लागत कम हुन्छ भने व्यापार प्रक्रिया सहज बननउनेछ ।
५५३ कन्टेनर राख्न मिल्ने
आयोजना प्रमुख डङ्गोलका अनुसार बन्दरगाहमा चार तलाका २२० वटा स्लट रहनेछन् जसमा ५५३ कन्टेनर राख्न मिल्ने गरी एक हजार तीन सय स्क्वायरका चारवटा वेयर हाउसको व्यवस्था गरिनेछ । कोलकाता, विशाखापट्टनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनर यही बन्दरगाहमा जाँच गरी पठाइनेछ । यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय कमी आउने विश्वास सरकारको छ । बन्दरगाह निर्माणपछि भारत र चीनबाट काठमाडौँ आउने कन्टेनरको सिल काठमाडौँमै तोडेर भन्सार जाँच पास गरिनेछ ।
प्रतिक्रिया दिनुहोस