aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डाइलसिस गर्दा गर्दै विरामीको मृत्यु, सिद्धार्थनगर सिटी हस्पिटल तनावग्रस्त

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • शनिबार, ३२ जेठ २०७६
डाइलसिस गर्दा गर्दै विरामीको मृत्यु, सिद्धार्थनगर सिटी हस्पिटल तनावग्रस्त

भैरहवा । सिद्धार्थनगर सिटी हस्पिटल प्रालि भैरहवामा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपश्चात अस्पताल तनावग्रस्त भएको छ । सियारी गाउँपालिका– ३, जङहथ्थाका २६ वर्षीय वीरेन्द्र अग्रहरीको शुक्रबार बेलुका मृगौलाको डाइलासिस गर्ने क्रममा मृत्यु भएको हो । अस्पतालको लापरबाहीका कारणले आफ्नो भाईको मृत्यु भएको मृतकका दाजु सुरेन्द्र अग्रहरीले दाबी गरेका छन् ।
 
जेठ २८ गते अस्पतालमा भर्ना भएका वीरेन्द्र अग्रहरीलाई अस्पतालका मृगौला रोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डेले सोही दिन पहिलोपटक डाइलासिस गरेका थिए । जेठ ३१ गते डा. पाण्डेको अनुपस्थितिमा अन्य स्वास्थ्यकर्मीले डाइलासिस गर्ने क्रममा उनको मृत्यु भएको परिवारको दाबी छ । यसरी सम्बन्धित विशेषज्ञको अनुपस्थितिमा स्वास्थ्यकर्मीले  डाइलासिस गरेर बिरामीलाई मृत्युको मुखमा पुर्याउने अस्पताल र चिकित्सकलाई कारबाही हुनुपर्ने माग परिवारको रहेको छ ।

यस्तो रह्यो घटनाक्रम
परिवारका अनुसार गत जेठ २८ गते वीरेन्द्र अग्रहरीलाई परिवारका सदस्यले बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचारका लागि लिएर गए । त्यहाँ चिकित्सकहरुले बिरामीको डाईलासिस गर्नुपर्ने बताएपछि परिवारका सदस्यहरुले उनलाई भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा ल्याएर भर्ना गरे । २८ गते नै वरिष्ठ मृगौलारोग विशेषज्ञ डा. सुवोधकुमार पाण्डेले उनको डाइलासिस गरे ।

शुक्रबार बिरामी वीरेन्द्र अग्रहरीलाई डाइलासिस गर्नका लागि चार पिन्ट ‘ओ’ पोजिटिभ रगत चाहिने भएकाले परिवारले सोको पनि व्यवस्था गरेर अस्पतालमा ४ पिन्ट रगत बुझाए । ४ पिन्ट रगतको व्यवस्था भएपछि उनको डाइलासिस शुरु गरियो । तर, डा. पाण्डेको अनुपस्थितिमा २ पिन्ट रगत चढाईसकेपछि उनको डाइलासिस शुरु गरियो तर अन्य बिरामी डाइलासिसका लागि आएको भन्दै उनको डाइलासिसलाई बीचमै छोडियो र करिब ३ घण्टा पर्खाइयो र पुनः डाइलासिस गरिएन । यसै क्रममा बेलुका करिब ६ बजे २६ वर्षीय वीरेन्द्र अग्रहरीको मृत्यु भयो ।डाईलासिस गर्दा बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेको उपस्थिति नरहेको मृतकका आफन्तको भनाइ छ ।

यसो भन्छन् चिकित्सक

गत जेठ २८ गते सिटी हस्पिटलमा भर्ना भएका बिरामी वीरेन्द्र अग्रहरीको डाइलासिस अगाडि रगतमा क्रियटिनाइनको मात्रा करिब १४ रहेको र डाइलासिसपछि क्रियटिनाईनको मात्रा ४ मा झरेको अस्पतालका मेडिकल अफिसर डा. अमित चतुर्बेदीले बताए ।  शुक्रबार उनको क्रियटिनाइनको मात्रा घटेको हुँदा उनी भन्दा बढी सिरियस बिरामीको डाइलासिस अगाडि गरिएको डा. चतुर्बेदीले स्वीकार गर्दछन् ।

अग्रहरीको डाइलासिस गर्नका लागि बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डेले ३१ गते बिहानै आफुहरुलाई निर्देशन दिएर बाहिर जानुभएको उनले बताए । हामीबाट केही कमजोरी भएको छैन चिकित्सकले हरेक बिरामीलाई राम्रो होस् भन्ने चाहन्छ र हामीले त्यही धर्म निभाउँदै आएका छौँ उनको भनाई छ ।  हामीले उहाँलाई बचाउने धेरै प्रयास गरेका हौं । तर, बेलुका ७ः४० मा उहाँलाई मृत घोषणा गर्न बाध्य भयाँै डा. चतुबेर्दीले भने  ।


सम्बन्धित विशेषज्ञको निगरानी बिना र केवल निर्देशनको भरमा के  डाईलासिस गर्न पाइन्छ त भन्ने जिज्ञासामा डा. चतुर्बेदीले अन्य अस्पतालमा पनि यसरी नै डाइलासिस गर्ने गरेका छन् भन्ने गैरजिम्मेवारी पूर्ण उदाहरण दिन पनि पछि परेनन् । अस्पतालका निर्देशक अर्जुन पौडेलसँग यसबारेमा बुझ्न खोज्दा आफू अहिले पोखरामा रहेकाले यसबारेमा बेलुकासम्म आफू भैरहवा आएर सबै कुरा बुझ्ने र जानकारी दिने बताउँछन् । उनले पनि डाइलासिस्को प्रक्रियामा सधै सम्बन्धित विशेषज्ञ चिकित्सक बसेर अन्य अस्पतालले पनि काम नगर्ने उदाहरण दिए । चिकित्सकको लापरवाहीका कारण सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा बिरामीको मृत्यु भएका समाचारहरु पटक–पटक आउने गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस