aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लोकसेवा विज्ञापन प्रकरणः १० लाख जना डिप्रेशनको शिकार !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
लोकसेवा विज्ञापन प्रकरणः १० लाख जना डिप्रेशनको शिकार !

काठमाडौं । लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । लोक सेवा तयारी गरिरहेका ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छन् । 

लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताए । देशभरबाट आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन आग्रह समेत गरे । 

उनले भने, ‘देशमा सधै युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो ।’ योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भनाई गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको बताए । 

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए । उनले भने, ‘यस्ता कदम युवाविरोधी हुन् ।’

अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाए । देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । 
 

प्रतिक्रिया दिनुहोस