
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा स्थायी लेखा नम्बर लिने करदाता ६८ प्रतिशतले घटेका छन् । गत आर्थिक वर्षको पहिलो ७ लाख ५५ हजार ६२६ जना करदाताले स्थायी लेखा लिएका थिए । यो आर्थिक वर्षको पहिलो चौमासमा जम्मा २ लाख ४१ हजार ९८५ ले स्थायी लेखा नम्बर लिएका छन् ।
कोभिड महामारीका कारणले आम नागरिकको आवागमनमा सहज नहुँदा र नयाँ व्यवसाय तथा रोजगारी सिजर्नमा कमी आउँदा स्थायी लेखा नम्बर लिनको संख्या घटेको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको पहिलो चौमासिक विवरणअनुसार २ लाख ४१ हजार ९८५ करदाताले नयाँ स्थायी नम्बर लिएका छन् । सो अवधिमा एक लाख ६३ हजार १३४ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका हुन् भने ७७ हजार ६ सय २१ ले व्यवसायिक प्यान (बीप्यान) लिएका हुन् । यो अवधिमा करकट्टी गर्ने निकायबाट एक हजार २३० करदाताको करकट्टी गरेका छन् ।
यो अवधिमा १३ हजार ३१५ व्यवसायी मूल्य अभिवृद्धि करमा दर्ता भएको छन् भने अन्तः शुल्कमा ६ हजार ९०५ दर्ता भएका छन् । योसँगै हालसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३५ लाख ७९ हजार ४७७ पुगेको छ । अहिलेसम्म दर्ता भएका करदातामध्ये व्यवसायिक प्यान निे करदाता १४ लाख ३६ हजार ५५५ रहेका छन् । व्यक्तिगत प्यान लिनेको संख्या २१ लाख ३६ हजार ५८६ पुगेको छ।
त्यसैगरी मूल्य अभिवृद्धि करमा यो अवधिसम्म २ लाख ६९ हजार २७८ करदाता दर्ता भएका छन् भने अन्तःशुल्कमा एक लाख एक हजार १९७ करदाता दर्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस