aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

इन्डोनेसियामा कोरोनाको खोप लगाउन शुरु, पहिलो खोप राष्ट्रपतिले लगाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
इन्डोनेसियामा कोरोनाको खोप लगाउन शुरु, पहिलो खोप राष्ट्रपतिले लगाए

एजेन्सी । इन्डोनेसियामा बुधबार कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो ।

आफूले खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । 

विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक इन्डोनेसियाको यस कदमलाई प्रशंसनीय मानिएको छ । इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।  

खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा उनले भनेका छन्, “कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क लगाइने छ ।”

सरकारले शुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ । आफूले खोप लगाउन पाएकोमा खुशी लागेको उनले उल्लेख गरेका छन् । त्यही खुशी सबै नागरिकलाई प्राप्त हुने दाबी पनि छ । 

“कुनै नागरिकले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन नपाउने कुनै कारण छैन, यसमा सबै ढुक्क हुनु होला, तपाईहरू सबैले निःशुल्क खोप लगाउन पाउनु हुनेछ,” उनले भनेका छन् । इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको पनि अधिकारीहरूले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस