
काठमाडौं ।श्रीराम सुगर मिल्सले ३ पुस, शुक्रबारदेखि उखु किसानको भुक्तानी शुरू गरेको जानकारी दिएको छ। उद्योगले बक्यौता रकम भुक्तानीका लागि उद्योगको ब्यांक खातामा रकम जम्मा गरिसकोले शुक्रबारदेखि किसानलाई भुक्तानी गर्न थालेको जनाएको छ।
भुक्तानीका लागि कारखाना स्थलमा सूचना टाँस गरिएकोले र शुक्रबारदेखि नै भुक्तानी चालु गर्ने उद्योगले एक विज्ञप्ति जारी गरेर जनाएको छ।
उद्योगले उखु किसानहरूबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम समयमा नै भुक्तानी गर्न नसकेकोमा क्षमायाचना पनि मागेको छ। पटक पटक सम्बन्धित निकायहरूमा छलफल गरी समस्या समाधानका उपाय अवलम्बन गर्न खोजिए पनि हुन सकेको थिएन।
उद्योगको स्थापनाकाल देखि नै आफ्ना उखु उत्पादक किसानहरूको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गएकोले परिस्थितिबस भुक्तानी गर्न ढिलो गरेको भन्दै उद्योगले किसानसँग क्षमा मागेको छ।
कतिपय चिनी उद्योगले वर्षौंदेखि किसानको भुक्तानी नदिएपछि उखु किसान २८ मंसीरदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्। किसानले भने आफूले पाउनुपर्ने सबै रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस