वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो भन्सारले चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा २९ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ संकलन गरेको हो ।
आयातनिर्यात कारोबारका आधारमा मुख्य भन्सार मानिएको वीरगञ्जले तोकिएको लक्ष्य भने भेट्टाउन सकेन । निर्धारित लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए । ५ महीनाका लागि वीरगञ्ज भन्सारलाई ३५ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ राजस्व उठाउने जिम्मा दिइएको थियो ।
अघिल्लो आव २०७६÷७७ को समीक्षा अवधिमा यो भन्सारले ३८ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ उठाएको थियो । यो रकम लक्ष्यको तुलनामा करीब ७३ प्रतिशत थियो । त्यस अवधिका लागि भन्सारले ५२ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको लक्ष्य पाएको थियो ।
चालू आवमा राजस्वमा मुख्य योगदान दिने इन्धन र सवारीसाधनको आयात घटेकाले राजस्वमा कमी आएको भन्सारले बताएको छ । ‘गतवर्षको तुलनामा गाडी र इन्धन आयात घटेकाले त्यसको प्रभाव राजस्वमा परेको हो,’ अधिकृत सुकमनीले भने ।
कोरोना महामारी र बन्दाबन्दीका कारण आयात प्रभावित भएको भन्सारले बताएको छ । पछिल्लो २ महीनामा सुधार देखिए पनि ६ महीनाको बन्दाबन्दीले पारेको असर अहिले पनि पूर्ति नभएको व्यवसायीहरू बताउँछन् । उत्पादन र माग नै घटेकाले व्यापार खस्किएको उनीहरूको भनाइ छ ।
वीरगञ्जबाट उठ्ने राजस्वमा सबैभन्दा बढी योगदान डिजेलको छ । ५ महीनामा उठेको कुल राजस्वमा २० प्रतिशत भाग डिजेलबाट आएको भन्सारको तथ्यांकले देखाउँछ । यस अवधिमा डिजेलको आयात परिमाण गतवर्षको समीक्षा अवधिको तुलनामा ६ प्रतिशतले घटेको छ ।
पेट्रोल आयातमा १७ प्रतिशतले कमी आएको छ । राजस्वमा करीब १२ प्रतिशत अंश ओगटेको जीपकार र भ्यानको आयात ३९ प्रतिशतले घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको छ । राजस्वमा यस्ता गाडीको अंश करीब १२ प्रतिशत छ । त्यस्तै मोटरसाइकल, पीकअप गाडी, एलपीग्यास, मिनीट्रक र बसलगायतको आयात पनि घटेको भन्सारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस