काठमाडौं । नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो ।
न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीय युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौं जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाणपत्र लिए । उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए ।
४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे । युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन् ।
विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन् । पछिल्लो समय काठमाडौं जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ । उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन् । यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन्।
काठमाडौं जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन्।अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यानडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तान लगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन्। भदौ १ देखि लागू भएको देवानी संहितामा जिल्ला अदालतमा ‘दर्ता विवाह’ गर्नसक्ने व्यवस्था छ । ‘विवाह दर्ता’ का लागि भने सम्बन्धित गाउँपालिका, नगरपालिकामा निवेदन दिनुपर्ने प्रावधान छ।
नयाँ कानुन कार्यान्वनयमा आएपछि काठमाडौं जिल्ला अदालतबाट करिब हजार जनाले दर्ता विवाह गरेका छन् । जिल्ला अदालतको तथ्यांक हेर्दा भदौयता (बिहीबारसम्म) ९९७ जनाले विवाह गरेका छन् । त्यसमध्ये २६१ नेपाली युवतीले अमेरिकी पुरुषसँग, ४८ जनाले बेलायती पुरुषसँग, २७ जनाले अस्ट्रेलियाली पुरुषसँग, २६ जनाले चिनियाँ पुरुषसँग, २० जनाले जापानी पुरुषसँग, १८ जनाले क्यानेयिन पुरुषसँग, १० जनाले दक्षिण कोरियाली पुरुषसँग र पाँचजनाले फिलिपिन्सका पुरुषसँग विवाह गरेका छन् ।
यसरी बिहे गर्ने पुरुषमा कतिपय गैरआवासीय नेपाली पनि छन् । इजिप्ट, सर्विया, पोल्यान्ड, इन्डोनेसिया, फिन्ल्यान्ड, पाकिस्तान, जर्मनी, ताइवान, युएई, अर्जेन्टिना, नर्वेका पुरुषसँग पनि नेपाली महिलाले विवाह गरेका छन् । नेपाली पुरुषले पनि विदेशी महिलासँग विवाह गरेका छन् । लमजुङका ३८ वर्षका पुरुषले अस्ट्रेलियकी ५३ वर्षीया महिलासँग विवाह गरेका छन् । विदेशी महिलासँग विवाह गर्ने नेपाली पुरुष भन्ने नगन्य छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस