
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्)बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले आज जारी गरेको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन मिति तोकेको जनाइएको छ ।
मन्त्रिपरिषद्को आज बिहान भएको बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गरेका हुन् । गत २०७४ मङ्सिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस