
आखिर नेपालका लोकतन्त्रवादीहरुलाई जे डर थियो त्यो भएरै छोड्यो । केपी ओली नेपालका लागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भने झैँ ‘भष्मासुर’ सिद्ध नहुन् भन्ने कामना थियो, तर त्यही भयो ।
ओलीले नेपाली जनताको सार्वभौमिकता माथि अप्रत्याशित अकल्पनीय प्रहार गरे । जनमतको कदर त उनले बितेका ३ वर्षमा कहिले पनि गरेनन् । अन्ततः त्यसको उपहास गरेर सम्पूर्ण आशा, विश्वास र भरोसा माथि तुसारापात गरे ।
आधुनिक नेपालको इतिहासमा सर्वाधिक निन्दित कुपात्रका रूपमा केपी ओलीले आफ्नो नाम दाखिल गरेका छन् । सायदै उनलाई ओझेलमा पार्ने गरी हठात् र आवेगपूर्ण निर्णय गर्ने अत्यन्तै व्यक्तिपरक सोच भएको मानिस आजको मितिमा नेपालमा जीवितै होलान् ।
यी सबै अभिव्यक्ति जायज र सही भन्न आजका मितिमा कसैले हिचकिचाउनु पर्ने जरुरी छैन । किनकि लोकतन्त्रको पुरस्थापना र राजतन्त्रको अन्त्य जस्ता ऐतिहासिक घटना भएका दिन पुनः यही जन्ममा यस्तै खालको दिन देख्नु पर्ला भनेर अवश्य पनि कुनै नेपालीले सोचेका थिएनन् ।
तर, केपी ओली यति तल्लो स्तरमा झरेर निर्णय गर्न पुगे की सारा नेपालीको आज मन खिन्न भएको छ । आज नेपाली जनतामाथि ठूलो घात गरिएको छ । उनलाई साथ दिने राष्ट्रपतिको कदम समेत निन्दनीय बनेको छ ।
यो आक्रोश पूर्ण अभिव्यक्ति अहिले यति फिक्का बनिरहेको छ की अहिले यसको कुनै अर्थ छैन । यस्ता कुनै अभिव्यक्ति विचार, धारण र टिप्पणीले नछुने जड पात्र हुन् केपी ओली र त्यो भन्दा निन्दनीय पात्र हुन् राष्ट्रपति विद्या देवी भण्डारी ।
त्यसैले, आज आम नेपालीहरूले एउटा विवेकपूर्ण निर्णय गर्नुपर्ने देखिएको छ, त्यो हो, त्यो हो बालुवाटारमा बसेर केपी ओली र शितलनिवास बसेर विद्या देवी भण्डारीले चालेका असंवैधानिक कदम विरुद्धको सशक्त प्रतिरोध आन्दोलन ।
यस्तो आन्दोलन किन पनि जरुरी छ भने आधुनिक नेपाली जनता सचेत छन् । सही र गलत छुटाउन सक्नेछन् र हरेक व्यक्तिलाई उसका कर्म अनुसारको उचित सजाय दिन सक्षम छन् भन्ने फेरि एक पटक प्रमाणित गर्ने बेला भएको छ ।
आवश्यक परे ९० को दशकको पूर्वार्धमा युरोपमा निकोलाई चाउचेस्कुलाई झै केपी ओलीलाई सजाय दिनु परे पनि नेपाली जनता त्यसका लागि तयार हुनुपर्छ । केपी ओली जस्तै हठी र घमण्डी कम्युनिष्ट नामधारी चाउचेस्कुलाई त्यहाँका आन्दोलनकारीहरुले लखेट्दै समातेर गोली हानेर मारेका थिए । ओलीमा चाउचेस्कुसँग तुलना गर्न मिल्ने धेरै त्यस्ता विशेषताहरु छन् जसले उनको अन्त्य पनि चाउचेस्कुको झै बन्न सक्ने देखिएको छ ।
आफ्नो हैसियत भन्दा ठूलो कुरा गर्ने, सपनाको महल ठड्याउने र जन भावना तथा मतको अनादर गर्ने चाउचेस्कुसँग ठ्याक्कै मिल्ने ओलीका स्वभावहरु हुन् । रोमानियमा राजनिति परिवर्तन आउने स्याउको बोटमा नास्पाती फल्नु पर्छ भन्ने अभिव्यक्ति दिने चाउचेस्कुलाई त्यो सम्भव छ भन्ने देखाउन आन्दोलनकारीहरुले राजधानी बुकारेस्टका सबै रुखहरुमा नास्पाती झुण्ड्याएर हत्तोत्साहित पारेका थिए ।
तर, त्यो सांकेतिक कदम नबुझ्दा अत्यन्तै पिडादायी मृत्यु बहन गर्न चाउचेस्कु जोडी बाध्य बनेको थियो । त्यहि मार्गमा त्यस्तै उदेश्यका साथ अगाडि बढ्नु पर्छ । नेपाली लोकतन्त्र जोगाउनु पर्छ । सार्वभौम अधिकारको प्रयो गर्ने सन्दर्भमा कहि कतै कुनै क्षण पनि चुक्नु हुँदैन ।
यो सबै यसकारण आवश्यक छ की यदि केपी ओलीलाई आजका कदमका लागि उचित सजाय दिन सकिएन भने हामीले हाम्रा सन्तानहरूको भविष्यमाथि समेत खेलबाड गरेको ठहर्ने छ । इतिहासले हामीलाई धिक्कार्ने छ ।
त्यसैले, सबै तह, वर्ग, पेसा, व्यावसायिक रहेका हरेक नेपालीले आफ्ना राजनीतिक विश्वास, आदर्श र स्वार्थलाई पर राखेर नेपाल र नेपालीको बृहत्तर हित रक्षाका लागि लोकतन्त्र र स्वतन्त्रताका लागि जस्तोसुकै कदम चाल्नु परे पनि मानसिक तथा भौतिकरुपमा तयार रहनु पर्छ ।
प्रतिक्रिया दिनुहोस