
सधैं चर्चामा आइरहने बन्चरे डाँडा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग निर्माणका लागि सरकारले ११ करोड ७९ लाख रुपैयाँ रकमान्तर गरेको छ । कहिले स्थानीयका कारण त कहिले अन्य कारणले चर्चामा आउने गरेको ल्यान्डफिल्ड साइटसम्मको पहुँचमार्ग निर्माणको लागि उक्त रकम रकमान्तर गरेको हो ।
अर्थ मन्त्रालयले भैपरी आउने विकास कार्यक्रम शीर्षकबाट सो रकम चैत महिनामा निकासा गरेको हो । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गर्न २०६२ सालमा सिसडोल ल्यान्डफिल साइट २ वर्षको क्षमता रहने गरी सञ्चालनमा ल्याइएको थियो । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्यान्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन १३ वर्षसम्म गरिएको छ । अहिले सो ल्यान्डफिल्ड भरिएको छ ।
‘फोहोर व्यवस्थापनका लागि सरकारले सिसडोलभन्दा करिब २ किलोमिटर पर रहेको नुवाकोटको बन्चरे डाँडोलाई फोहर व्यवस्थापनको दीर्घकालीन ल्यान्डफिल बनाउने योजना ल्याएपछि त्यसको पहुँचमार्ग निर्माणको लागि सो रकम निकासा भएको हो,’ अर्थ अधिकारीले भने । सिसडोलदेखि बन्चरेडाँडासम्म जाने बाटो निर्माण गर्ने काम भइरहेको र आगामी दुई महिनाभित्र काम सकी फोहोर व्यवस्थापन स्थल निर्माणको काम गर्ने योजना महानगरले बनाएको छ ।
यसको क्षमता ६.५ लाख मेट्रिक टन थियो । काठमाडौं र ललितपुरबाट मात्रै दैनिक करिब एक हजार देखि एक हजार एक सय टन फोहोर उत्पादन हूने गरेको छ । सोमध्ये ७० देखि ७५ प्रतिशत फोहर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ ।
गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो ।
हाल काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
बन्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्यान्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने प्राविधिकहरू बताउँछन् ।
उक्त योजना बीचमै अलपत्र परेको छ । २०७३ सालमा बन्चरे डाँडास्थित ल्यान्डफिल निर्माण कार्य शुरु भएको थियो । २०७५ वैशाखमा काठमाडौको एकीकृत फोहोर व्यवस्थापनका लागि लगानी बोर्डमार्फत नेपवेष्ट नामक निजी कम्पनीलाई जिम्मा दिने प्रारम्भिक सहमति पनि भएको थियो । तर, अहिलेसम्म नेपवेष्टले काम गर्न शुरु गरेको छैन ।
सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल्ड निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ । विगत पाँच वर्ष अघिदेखि नै बर्खाको समयमा फोहोर धेरै जम्मा हुने हुँदा सिसडोलमा फोहोर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । केन्द्र सरकारले दीर्घकालीन फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडा निर्माणलाई रोजेको हो ।
नेपालको २९२ नगरपालिकामध्ये ५ वटा नगरपालिकासँग मात्र ल्यान्डफिल्ड साइट छ भने केही नगरपालिकाले कन्ट्रोल डम्पसाइट बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस