aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

तीन प्रमुख दल अन्यौलमा, के गर्ने निश्कर्ष निस्किएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
तीन प्रमुख दल अन्यौलमा, के गर्ने निश्कर्ष निस्किएन

काठमाडौं । संसद विघटन गर्ने केपी ओली सरकारको कदम विरुद्ध कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न कांग्रस केन्द्रिय कार्यालयमा बसेको प्रमुख तीन दलको बैठक ठोस निश्कर्ष बिना अन्त्य भएको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आयोजनामा बसेको सो बैठकमा नेकपा र जनता समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको थियो । सो बैठकले वर्तमान संविधानमा नभएको कपोकल्पित प्रावधानमा टेकेर संसद भंग गर्ने गरि गरिएको निर्णयबाट संविधान माथी नै आक्रमण भएको निश्कर्ष भने निकालेको छ । 

सो बैठकमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रमुख तीन दलको बैठकले संविधानको मर्म विरुद्ध गरेको आक्रमण र संसद विघटन गर्ने निर्णय विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । 

तर, प्रतिवाद कसरी गर्ने भन्ने विधि र प्रकृया चाँही आजको बैठकले स्पष्ट पारेको छैन । सो बैठकमा सहभागी तीन वटै दलको केन्द्रिय समितिको बैठक मंगलबार बस्ने र ती बैठकहरुले गरेका निर्णयको आधारमा अगाडि बढ्ने सहमति सहित आजको बैठक सकिएको हो । 

श्रेष्ठका अनुसार तीन दलिय बैठक फेरि बस्ने र सरकारका कदमको कसरी प्रतिवाद गर्ने भन्ने निर्णयमा पुग्ने सहमति पनि आजको बैठकमा भएको छ । 
 

प्रतिक्रिया दिनुहोस