aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

वीरगञ्ज नाकाबाट नेपाल–भारत व्यापारः सवा खर्बको आयात हुँदा निर्यात ७६ अर्ब

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, ०७ पुस २०७७
वीरगञ्ज नाकाबाट नेपाल–भारत व्यापारः सवा खर्बको आयात हुँदा निर्यात ७६ अर्ब

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो अवधिमा भारततर्फ ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको मालसमान भारत निकासी भएको छ ।

चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा वीरगञ्ज नाकाबाट भएको भारतसितको व्यापारमा मात्रै ४५ अर्ब १५ करोड रुपैयाँ व्यापारघाटा भएको भन्सारको तथ्यांकले देखाएको छ ।

भारतबाट आयात हुनेमा वस्तुमा सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य छन् । पछिल्लो समयमा अधिकांश आयातित वस्तुको परिमाण घटेको भन्सार अधिकृत रमेश सुकमनीले बताए । कोरोना महामरीका कारण बजारमा परेको प्रभाव आयातमा पनि देखिएको सुकमनीले बताए ।

नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल कायमै छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च भएकोमा भारतले आयात रोकेपछि स्वदेशी तेल उद्योगले भटमासको तेल निकासी बढाएका छन् ।

चालू आवको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६ करोड ३१ लाख किलो यस्तो तेल भारत निकासी भएको छ ।

वीरगञ्ज भटमासको तेल निकासी हुने मुख्य नाका हो । यो नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका  १४ ओटा उद्योगले तेल निकासी गर्छन् ।

गत आव २०७६र७७ को साउनदेखि मङ्सिरसम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३७९ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारले बताएको छ । ‘पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको पाइएको छ,’ सुकमनीले आर्थिक अभियानसँग भने ।

गत वैशाखको अन्त्यमा भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो । पाम निकासी हुन नसकेपछि स्वदेशी उद्योगीले भटमासको कच्चा तेल ल्याएर प्रशोधनपछि भारत निकासी गर्न थालेका छन् । अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेशियालगायत देशबाट भटमासको अर्ध प्रशोधित तेल आयात हुन्छ । यस्तो तेल नेपालबाट शूल्य भन्सार सुविधामा भारत निकासी हुँदै आएको छ ।

विगतमा पाम आयत पनि यही सहुलियतमा निर्यात हुने गरेको थियो । भारतले आफ्ना कृषक र उत्पादकलाई जोगाउन आयात रोकेको हो । जुस, कपडा, दन्तमञ्जन, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैंचा कार्पेट र पिना पनि भारत निकासीका मुख्य वस्तु हुन् । त्यसैगरी आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीटलगायत वस्तु निर्यात भएको भन्सारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस