काठमाडौं । उखु किसानको एक साता लामो आन्दोलनपछि उखु मिल मालिकहरूले बक्यौता भुक्तानी सुरु गरेका छन् । अघिल्लो आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलनरत किसानमा बक्यौता पाउने आशा बढेको छ । तर उनीहरू सबै रकम नपाएसम्म आन्दोलन जारी राख्ने मनसायमा छन् ।
‘सरकार र उद्योगीबाट धेरै पटक धोका खायौं । अहिले थोरैथोरै गरेर भुक्तानी गरिरहेका छन्,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘तर शान्तिपूर्ण आन्दोलन यथावत् छ । भुक्तानी सबै पाएपछि मात्र घर फर्किन्छौं ।’ श्रीराम सुगर मिलले पुस ३ मा १६ करोड ४४ लाख ७० हजार रुपैयाँ र ५ गते ८ करोड ८५ लाख ५७ हजार रुपैयाँ गरी २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको दाबी गरेको छ । ‘पुस ३ र ५ गते गरी २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानीका लागि उखु किसानको खाता रहेका बैंकहरूलाई निर्देशन दिई सोहीअनुसार किसानको खातामा रकम जम्मा भइरहेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं,’ श्रीरामले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाँकी बक्यौताको हकमा प्रत्येक दिन क्रमशः भुक्तानी गर्दै जाने व्यहोरासमेत सबैमा जानकारी गराउन चाहन्छौं ।’ श्रीरामले भुक्तानी गरिरहेको दाबी गरे पनि संघर्ष समिति भने ठोस सबुत नभएको दाबी गर्छ ।
‘श्रीरामले २५ करोड भुक्तानी गरेको भनेको सुनेका छौं । तर किसानले पाएको कुनै प्रमाण छैन,’ सचिव रायले भने, ‘पैसा किसानको खातामा पुगेको छैन ।’ अन्नपूर्ण सुगर मिलले पनि पुस ५ देखि बक्यौता रकम भुक्तानी गरिरहेको जनाएको छ । ‘पुस ५ देखि बक्यौता रकम भुक्तानी सुरु गरेका छौं,’ मिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो एक वर्षमा किसानलाई १८ करोड भुक्तानी गरेका छौं । अब नियमित रूपमा दैनिक १ करोडका दरले किसानको खातामा पठाउने भुक्तानी सूची तय भएको छ । सक्दो सबै छिट्टै भुक्तानी गर्नेछौं ।’ अन्नपूर्णबाट पनि थोरै रकम प्राप्त गरेको रायले जानकारी दिए ।
‘५ लाख ८८ हजार रुपैयाँ पाउने किसानले ८२ हजार पाएका छन्, ४ लाख रुपैयाँ पाउने किसानले ३६ हजार रुपैयाँ मात्रै पाए,’ उनले भने, ‘किस्ताबन्दीमा पाए, सबै चुक्ता भएको छैन ।’ लुम्बिनी सुगर मिलले किसानसँग माघ १ भित्र सबै भुक्तानी गर्ने सहमति गरेको जनाएको छ ।लुम्बिनीका विषयमा भने संघर्ष समिति मौन रहेको रायले बताए । ‘किसानसँगै सहमति भएपछि समितिले बोल्ने कुरा भएन,’ उनले भने ।यता उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भने किसानका समस्या एक सातामै समाधान हुने दाबी गरे । ‘उद्योगहरूले बक्यौता तिरिरहेका छन् । श्रीरामले एक–दुई दिनमै सबै भुक्तानी गर्ने जनाएको छ ।
अन्नपूर्णको सबै चिनी बिक्री भएकाले उसले पनि सबै भुक्तानी गर्छ,’ उनले भने, ‘अब एक सातामा सबै समस्या समाधान हुन्छ ।’ सरकारले एक सातामा समस्या समाधान हुने बताए पनि किसान भने विश्वस्त छैनन् । उनीहरूले आन्दोलनसँगै वार्ता पनि गरिरहेका छन् । रायका अनुसार आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र किसानका प्रतिनिधिबीच छलफल भयो । त्यस क्रममा सरकारी अधिकारीले पनि आन्दोलन स्थगन गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस