aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
शेयर बजार चर्चा

शेयर बजार र बाफेटको खोटो सिक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६

यतिबेला नेपाली शेयर बजारका अधिकांश लगानीकर्ता एउटै प्रश्नको जवाफ खोजिरहेका छन्, पूँजी बजारलाई सपोर्ट गर्ने बजेट आउँदा समेत किन नेप्से उकालो लाग्न सकिरहेको छैन ? यसको सिधा जवाफ यो हो कि शेयर बजारलाई राज्यको नीतिले मात्र होइन कि लगानीकर्ताको मनोदशाले समेत प्रभाव पार्छ । त्यसैले सरकार पूँजी बजारप्रति उदार भएपनि लगानीकर्ता पूर्णरुपमा आश्वस्त हुन नसक्दा नेप्सेमा हरियो बत्ति बल्न नसकेको हो ।

यसो भनिरहँदा के पनि भन्न भुल्नु हुँदैन कि पूँजी बजारमा राज्यको आर्थिक गतिविधि र नीतिहरूले प्रभाव चाहीं दीर्घकालिन रुपमा पारिरहेको हुन्छ । मुलुकको अर्थव्यवस्था बलियो भयो भने पूँजीबजार स्वत दर्विलो बन्छ ।

संसारका सफल लगानीकर्ता मध्येका एक वारेन बफेटका धेरै भनाईहरु मध्ये एउटा चाहीं त्यति चर्चित छैन, जुन यसप्रकार छ ? 'जब खोटो नोटलाई आफु खोटो भएको थाहा हुन्छ त्यहीबेला देखि उ खोटो रहँदैन ।' यो भनाइका दर्जनौ अर्थहरू हुनसक्छन् । हाम्रो सन्दर्भमा चाहिं कुन कम्पनीमा र कुन समयमा लगानी गर्ने वा लगानी झिक्ने भन्ने जानकारी नभएकाहरुको हकमा यो भनाई चरितार्थ हुन्छ । अझ स्पष्ट गरि भन्दा धेरै चर्चमा नरहेको यो भनाई हामि सबै लगानीकर्ताको  हकमा लागु हुन्छ ।

हामी त्यतिबेला सम्म मात्र सहि र चतुर लगानीकर्ता ठहर्छौँ जबसम्म हामीले गरेको लगानीले प्रतिफल दिन्छ । तर, त्यो त संधै हाम्रो अनुकुल हुँदैन । अनि जब हामि आफुले गरेको कुनै लगानी गलत भएछ भन्ने निष्कर्षमा पुग्छौं हो त्यहि बेला हो खोटो पैसाले आफु खोटो भएको थाहा पाएको बेला । अर्थात्, हामीले आफु मुर्ख लगानीकर्ता भएको महसुस गरेको बेला । त्यसैले शेयर बजारमा समय आफुले बुझे जसरी नै अगाडि बढ्छ भन्ने यदि हामि मध्ये कसैले सोचेका छौं भने हामि आफु खोटो नोट भएको थाहा पाइरहेका छैनौ ।

यसो किन पनि भनिएको हो भने हामी आफुलाई जति चतुर लगानीकर्ता सम्झन्छौ त्यति नै मुर्ख पनि हौँ । जब हामीलाई आफु मुर्ख लगानीकर्ता भएको महसुश हुन्छ त्यसबेला लगानीको कुनै खास परिस्थितिको बारे आफुलाई जानकारी नभएको हामी स्वीकार्न बाध्य हुन्छौं । अनि जब परिस्थितिको सहि आंकलन गर्न सक्छौं वा भनौ हामीले सोचे अनुसार नै बजारले गति लिन्छ त्यो बेला फेरि हामी आफुलाई चतुर घोषणा गर्ने अवस्थामा पुग्छौं ।

यो सबै किन भनिएको हो भने अहिले हामी सबैजना एउटै प्रश्नमा अल्झीरहेका छौं, शेयर बजारलाई नेपालको अर्थतन्त्रबारे त्यस्तो के कुरा थाहा छ जुन हामीले बुझ्न सकिरहेका छैनौं ? सबै वातावरण अनुकुल र परिवेश सकारात्मक हुँदा हुँदै पनि किन शेयर बजार नकारात्मंक दिशातिर उन्मुख छ ? के त्यस्तो कुनै सुत्र होला जसको प्रयोग गरेर त्यो रहस्य बुझ्न सकियोस ?

आधारभूत रुपमा भन्ने हो भने यो त्यहि सनातन प्रश्न 'शेयर बजारको चाललाई कसले नियन्त्रण गरिरहेको हुन्छ ?' को अर्को स्वरुप मात्र हो । यसका धेरैवटा जवाफ हुनसक्छन् । यस्ता जवाफहरू एकै समयमा सहि र गलत दुवै हुनसक्छन् । बजारको गतिलाई खास कसले निर्धारण गर्छ भन्नेबारे धेरै अध्ययनहरु भएका छन् । यस्ता अध्ययनको उदेश्य यो हो कि यदि भविष्यमा पनि त्यस्तै अवस्था देखिएमा बजारको दिशा अनुमान लगाउन सकियोस । तर, प्राय सन्दर्भ र परिवेश मिलेपनि बजारको दिशा चाहिं बिपरित हुने गरेको देखिन्छ ।

तर पनि अध्येताहरुले के चाहीं पत्ता लगाए भने शेयर बजारको चाल तीनवटा प्रमुख कारणहरुले निर्धारण गर्दा रहेछन् । पहिलो अर्थ व्यबस्थाको उत्पादकत्व र त्यसको विकास । दोस्रो, अर्थ व्यवस्थामा भएको विकासले त्यो देशको नागरिकको विकासमा कति योगदान दिन्छ। र, तेस्रो मानिसहरुको जोखिमबाट बच्ने चाहना ।

यस्ता अध्ययनहरुले के स्पष्ट परेका छन् भने शेयर बजारको गतिलाई निर्धारित गर्ने उल्लेखित कारणहरु मध्ये तस्रो अर्थात् आम लगानीकर्ताको जोखिमबाट बच्ने चाहनाको ७५ प्रतिशत भूमिका हुन्छ । यसको अर्थ यो हो कि छोटो अवधिका लागि लगानीकर्ताको आवेग र भावना नै निर्धारक तत्व हो । हाल नेपाली शेयर बजारले भोगी रहेको अवस्थाको लागि पनि यहि कारण जिम्मेवार देखिन्छ । किनभने वर्तमान सरकार प्रति वा भनौ यसका गतिविधि र यो सरकारले नेपालको अर्थतन्त्रलाई सहिबाटोमा हिंडाउने कुरामा आम लगानीकर्ता बिश्वस्त हुनसकेका छैनन् ।

बजारमा महत्वपुर्ण हिस्सा ओगटेका साना लगानीकर्ताहरु अहिले आफ्नो बिगतको लगानीलाई जोगाउने मनस्थितिमा छन् । थोरै नाफा भएपनि शेयर बिक्रि गरिहाल्ने र मौका पाउन साथ बजारबाट बाहिरिने मनोदशा हालको अवस्थाको लागि जिम्मेवार देखिन्छ । त्यसबाहेक आर्थिक वर्षको अन्त्यको समय र यो बेला बैंक ऋण, ब्याज तिर्नै पर्ने वाध्यता पनि हाल नेपाली शेयर बजारलाई माथि उक्लन नदिने प्रमुख कारण देखिन्छ । 

जे भएपनि अहिले लगानीकर्ताले आफुलाई मुर्ख ठानीरहेको भएपनि यदि प्रतीक्षा गर्न सक्ने हो भने फेरि चांडै चतुर प्रमाणित गर्ने समय आउंदैछ भन्ने बिश्वाश गर्नुपर्छ । शेयर बजार अल्पकालीन लगानीको लागि उपयुक्त ठाउँ होइन रहेछ भन्ने मात्र बुझ्यौं भनेपनि हामीले आफु 'खोटो सिक्का' भएको थाहा पायौं भन्ने सम्झनुपर्छ ।

प्रतिक्रिया दिनुहोस