
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।
उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बाँध्ने काम भयो । उनलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याईयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु भएन् ।
सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविशसको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो ।’
उनले भने,‘उहाँहरुले सरकारले काम गर्न सकेन भन्नुभयो, अनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने काम भयो, अहिले संसद पूर्नस्थापना गर्ने हो माग गरिएको छ । सरकार असफल भयो, काम गर्न सकेन भन्नेहरु कम्तिमा मध्यावधिमा जाने भनेपछि खुशी भएर निर्वाचनमा जानुपर्ने हो नि ।
राम्रो काम गर्न सक्छु भन्ने लाग्नेलाई निर्वाचनमा जानुपर्छ । सरकारले काम गर्न सकेन भन्नेहरुले सरकारको निर्णयलाई सम्मान गर्नुपर्छ । जनादेश लिएर जानु नै राम्रो हो । हामी भोट प्राप्त गर्छौ, जनमत प्राप्त गर्छों । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ, यो उहाँको राईटको कुरा हो । सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?’
उनले कुनैपनि हालतमा संसद पूनस्र्पाना नहुने जिकिर गरे । उनले सरकारले काम गर्न सकेन भनेपछि, सरकार परिवर्तनको लागि अविश्वास प्रस्ताव पेश गरेपछि, र सरकार गिराउन त्यो खालको प्रस्ताव गएपछि प्रधानमन्त्री ओलीले जनादेशमा जाने कुरा गर्नु स्वागतयोग्य भएको स्पष्ट पारे । रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेपनि विश्वास दिलाए ।
उनले वर्तमान अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष र सर्वसम्मत प्रधानमन्त्री भएको सुनाउँदै बालुवाटारमा पहिलो अध्यक्षको नाताले ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको सुनाए । उनले भने,‘कतिपय साथी आउनुभएन्, कतिपय आउनुभयो । हामीले आवश्यकत्ताअनुसार केन्द्रीय कमिटीमा संख्या थपियो । विधानअनुसार बैठक बसियो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको गम्भीर आरोप लगाईन् । उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरिन् । उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भएपनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताईन् ।
उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् । तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको उनको गुनासो छ । वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाएपनि सो घोषणाअनुसार काम भने नभएको पनि उनको आरोप छ ।
उनले भनिन्,‘उहाँले पानीजहाज पनि ल्याउँछु भन्नुभयो, भ्रष्टाचार शून्य सहनसिलता दिन्छु भनेर वचन दिनुभयो । तर, अहिले संसद नै समाप्त गर्नुभयो । संविधानले चलाउने हो नि देश । यदि व्यक्तिले चलाउने हो भने किन संविधान चाहियो ? मुलुकले प्रणालीअनुसार अघि बढेन भने प्राप्त उपलब्धि धरायशी हुन्छ । यो सरकारले संसद विघटन गर्यो, यो गलत काम हो । प्रधानमन्त्रीको विशेषाधिकारको कुरा गरियो, तर संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार होईन् । अहिलेको संविधानमा संसद विघटन गर्न कुनै धारा छैन् ।’
संसद र कानूनले स्विकार नगरेको कुरालाई प्रधानमन्त्री ओलीले मेरो अधिकार भन्दै संसद विघटन गरेर गलत काम गरेको नेतृ भुषालको भनाई छ । संसद विघटन सिफारिश संविधानको कुनै धाराले नचिन्नेपनि उनले दोहोर्याईन् । तर, नेकपा सरकारले संसद विघटनको कदम उठाएर गैरसंवैधानिक र अलोकतान्त्रिक काम गरेको उनको भनाई । उनले आफूहरुले संसदीय व्यवस्थालाई स्थिर बनाउन चाहेको उल्लेख गर्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानतः नमिल्ने बताईन् ।
अब नेपाली कांग्रेसले के गर्छ ? भन्नेबारे पत्रकार धमलाले सोधेको प्रश्नमा उनले यसबारेमा वैचारिक बहस सुरु भएको जनाईन् । उनले भनिन्,‘निर्वाचनको वातावरण तय गर्नुपर्छ । हामी निर्वाचनको लागि सधैं तयार छौं । तर, हामी अदालतको निर्णय कुरेर बसेका छौं ।
२०७२ को संविधान जारी भएपछि भएको चुनावको बेलामा पनि हामीले एउटा पार्टीलाई स्पष्ट बहुमतको जनादेश दिनुपर्छ भनेका थियौं । मुलुकको विकास र समृद्धिको लागि अनि स्थायित्वका लागि पनि संविधानसभा जितेको तर कांग्रेस हारेको थियो । संविधान कार्यान्वयनको पक्षमा हामी छौं । राजनीतिक अस्थिरताको मूल्य जनताले चुकाउनुपर्छ ।’
उनले सत्तारुढ नेकपाले जनादेशको सम्मान नगरेको जिकिर गरिन् । उनले भनिन्,‘जबसम्म सरकार बन्नसक्ने ठाउँ हुन्छ, तबसम्म संसद विघटन हुँदैन् । अदालतको निर्णय पर्खनुपर्नेछ । संसद पूर्नस्थापना गर्ने सम्भावना छ । निर्वाचन प्रतिपक्षी दल डराउँदैन्, सधैं तयार छ । सिस्टमले मुलुकलाई चलाउँछ ।’
उनले संसद भनेको जनताको ऐना भएको उल्लेख गर्दै आफ्नो गुटको लागि विघटन गर्नु गलत भएको तर्क गरिन् । उनले प्रधानमन्त्री ओलीले पार्टी र कानुनको धज्जी उडाएको पनि आरोप लगाईन् ।
जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरे । उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले भने,‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन् । यो रकम काट्न मिल्दैन् । प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो नि । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको पद धरापमा पर्छ, जान्छ ।
यो नौलो कुरा होईन । तर, आफ्नो पद धरापमा पर्यो भन्दैमा यस्तो गलत कदम चाल्ने ? यो त संविधानको विरोधी भावना हो । उहाँमाथि अविश्वाको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारेको छ । आफूसँग बहुमत छ भने फेश गर्नुपर्छ । तर, उहाँले संसद विघटन गर्न पाउनुहुन्न । दर्ता भैसकेको अविश्वासको प्रस्तावलाई फेश गर्नुपर्छ ।’
उनले संसद विघटन गैरसंवैधानिक रहेको तर्क पेश गरे । उनले अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जिकिर गरे । उनले भने,‘अहिलेको अवस्था र अन्यौलबाट मुलुकलाई बचाउनको लागि हामीले अदालतमा बिन्ती गरेका छौं ।
विश्वमा धेरै देशमा सडकमा पनि बसेर संसद स्थापित भएका उदाहारण र ईतिहास छ। नाजायज कुरा र संविधानविपरितका कुरा सुरुदेखि नै बदर हुन्छ । हामीले संसद चलाउनको लागि सभामुखलाई पनि आग्रह गरेका छौं । अहिले चुनावको कुरा गरिएको छ, ओलीले गरेको कुरा नक्कली कुरा हो । यसले सक्कली कुरा लुक्दैन् ।’
कार्यक्रममा नेकपाका नेता तथा सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाईएको सुनाउँदै अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताए ।
उनले भने,‘आशा गरौं सर्बोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई।’ कुनै पनि अर्थमा संसद विघटनको प्राबधान संविधानमा नभएको उनको जिकिर छ । उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसङ्ग छलफल नै नगरी संसद विघटन गरेको दुःखेसो पोखे । आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि सुनाए ।
उनले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जिकिर गरे । दाहाल नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा तीन सय १५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाई छ । उनले को सँग बहुमत छ ? भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्नसक्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस