
काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बीजक प्रयोग गर्ने फर्म विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गराएको छ । सामानको गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको कसुरमा तीन फर्मका प्रोप्राईटर तथा मुख्य अभियुक्तहरूबाट १९ करोड ९६ लाख विगो असुल उपर गरी मुद्दा दर्ता गरिएको हो । जरिवाना र कैद सजाय समेत मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो ।
विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख विगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ ।
धनुषा स्थायी घर भई हाल ललितपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सञ्चालक सितादेवी जैसवालबाट ५ करोड ५५ लाख विगो माग्दै मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।
त्यस्तै रौटहत स्थायी घर भएका काँडाघारस्थित श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो माग गरी मुद्दा दायर गरिएको छ ।
विभागले सोही अभियोगमा बारास्थित शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनी मलाहसमेत ७ जनाविरुद्ध ४ करोड ७९ लाख रुपैयाँ विगो माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यस टे«डर्सबाट वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेत छलि राजस्व चुहावट गरेको आरोप विभागले लगाएको छ ।
विभागका अनुसार यी तीन प्रतिष्ठानले झुट्टा तथा नक्कली कर बिजक खरिद देखाइ सोही अनुसार आयकरतर्फ खरिद खर्च लिएको देखिएको छ । मूल्य अभिवृद्धि करतर्फ ट्याक्स क्रेडिट लिई कानुन बमोजिम सरकारलाई बुझाउनुपर्ने भ्याट र आयकर छली गरेको आरोप उनीहरुविरुद्ध विभागले कारवाही थालेको हो ।
बिहीबार नै विभागले राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गरेको अभियोगमा कास्की, पोखरास्थित अनुष्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनासमेत ३ जनाविरुद्ध जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा मुद्दा दर्ता गरेको छ । यस कम्पनीबाट १ करोड ८२ लाख विगो असुल गर्नुपर्ने माग दावी विभागको छ ।
प्रतिक्रिया दिनुहोस