aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राज्यमन्त्री मानन्धरबाट विश्व रेकर्ड

  • रासस
    रासस
  • शुक्रबार, १० पुस २०७७
राज्यमन्त्री मानन्धरबाट विश्व रेकर्ड

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन ।  वर्ल्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन । शुक्रबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड  गीत गाएर  विश्व रेकर्ड बनाएका छन । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाएका थिए । 
 
उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए। नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उहाँले ट्रयाकमा गाए । ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उहाँको रोजाइमा परेको थियो । 

कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइकी थिइन । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरेका थिए ।

वर्ल्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको बताए ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन । 

राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताए । उनले आज गाएका सबै गीतको रोयल्टीसमेत तिरेर गाएका थिए ।  

प्रतिक्रिया दिनुहोस