aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चुनाव भए डेपुटी गभर्नर नियुक्ति के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
चुनाव भए डेपुटी गभर्नर नियुक्ति के हुन्छ ?

काठमाडौं । पछिल्लो राजनीतिक घटना क्रमले देशलाई चुनावीमा धकेलेको छ । यसैबीच नेपाल राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरको कार्यकाल आगामी फागुन १८ गतेबाट सकिदैछ । चुनाव हुनुभन्दा तीन महिना अघिदेखि नै कर्मचारी सरुवा तथा बढुवा गर्न नपाउने नीतिसँगै डेपुटी गभर्नरको नियुक्ति अन्योलमा पर्ने देखिएको हो । 

राष्ट्र बैंक ऐन यस्तो परिस्थितिका बारेमा केही नबोलेकोले यदि चुनाव भएमा तीन महिनासम्म राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद रिक्त नै रहने छ ।  यदि चुनाव हुने पक्का भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले डेपुटी गभर्नरको कार्यवधि सकिनु अगावै डेपुटी गभर्नर नियुक्त गर्छन अर्थात चुवान पछि प्रक्रिया थालिन्छ यो भने हेर्न बाँकी नै छ । 

सरकारले निर्धारण गरेकै मिति वैशाख १७ र २७ गते चुनाव भयो भने नेपाल राष्ट्र बैंकमा करिव ३ महिनासम्म डेपुटी गभर्नरको पद रिक्त रहेने छ । गभर्नरले डेपुटी गभर्नरको सिफारिस गर्दा वरिष्ठ कार्यकारी निर्देशकबाट चार जनाको नाम सिफारिस गर्नुपर्नेछ । हाल राष्ट्र बैंकको विभिन्न विभागमा कार्यकारी निर्देशकको भूमिका निर्वाह गरिहेका १७ जना डेपुटी गभर्नरका लागि योग्य भएपनि सरकारसँग पहुँच भएका चार वर्षका लागि सो पदमा नियुक्त हुने अभ्यास हुँदै आएको छ । 

गभर्नर सिफारिसमा कार्यकारी निर्देशकहरूमध्येबाट दुई जनालाई मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने परम्परा भएपनि जसको पहुँच बढी र माथिसम्म छ त्यो नै डेपुटी गभर्नरका लागि योग्य हुन्छ । यदि चुनाव भयो भने राष्ट्र बैंकको डेपुटी गभर्नर बन्नका लागि श्रेष्ठताका आधार चयन गरिने हो भने  भुवन कँडेल र नेफिल मातंगी मास्के अग्रपङ्गी रहेका छन् । तर, राष्ट्र बैंक ऐनले यस विषयमा केही पनि बोलेको छैन । 

अहिले अर्थमन्त्रीको सल्लाहकार बनेर अर्थ मन्त्रालय काजमा पुगेका डा.प्रकाश श्रेष्ठदेखि डेपुटी बन्ने लाइनमा देव कुमार ढकाल, निलम ढुंगाना तिम्सिना, भुवन कँडेल, पिताम्बर भण्डारी, सुमन कुमारसहितले प्रयास गरिरहेका छन् ।

त्यसरी नै डेपुटीको लाइनमा गुणाकर भट्ट पनि डेपुटीको बलियो दावेदारको रुपमा देखिएका छन् । नेफिल मातंगी मास्के, पिताम्बर भण्डारी, मुकुन्दकुमार क्षेत्री, रिषिकेश भट्ट, प्रदीपराज पौडेल, नरेश शाक्य, बमवहादुर मिश्र, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत नेपाल तथा रामवहादुर मानन्धर पनि डेपुटीका लागि योग्य मानिन्छन् । 

डा.प्रकाश श्रेष्ठ पक्का डेपुटी बन्ने उम्मेदवार भनिएको छ । केपी ओली र विष्णु पौडेलले निरन्तरता पाएमा उनी डेपुटी हुनेछन् । अर्काे एक डेपुटी गभर्नरका लागि तिब्र प्रतिष्पर्धा छ । जसमा बामपन्थी खेमाका अधिकांश कार्यकारीहरु प्रयासरत छन् । 
डेपुटी बन्न ढकाल, तिम्सिना, भुवन कँडेलसहितले निकै मेहनत गरिरहेका छन् । पिताम्बर भण्डारीदेखि सुमन कुमार अधिकारीसम्मले सम्बन्धित शक्तिकेन्द्रमा पहुँच बढाएका छन् । यीमध्ये कँडेल, ढकाल, ढुंगाना र अधिकारीलाई प्रवल दावेदार मानिएको छ । 

राष्ट्र बैंक ऐनले अहिले कायम रहेका १७ जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बन्न बराबरी योग्यता दिएको छ । कहिलेकाँही बरिष्ठताका आधारमा डेपुटी गभर्नर नियुक्त गर्नु पर्ने आवाज उठेपनि राजनीतिक पहुँचका आधारमा गभर्नरले आफ्नो दायाँ हातका रुपमा सिफारिस गर्ने गरेको विगतका अभ्यास छन् । 

डेपुटी गभर्नर दैनिक काम कारबाहीका साथै राष्ट्र बैंकको बोर्डमा पनि वरिष्ठ सदस्य हुन्छन् । डेपुटी गभर्नर खाली हुने मिति नजिकिदै जाँदा कार्यकारी निर्देशकहरु आ–आफ्नो पहुँच बढाउन राष्ट्र बैंकको दोस्रो आकर्षक पदमा पुग्न दौडमा लागेका हुन् । 

डेपुटी गभर्नरमा नियुक्त हुनका लागि कतिपय कार्यकारी निर्देशक नेता तथा नेतापत्नीलाई रिझाउन उनीहरूको घरदैलोमा जान थालिसकेका छन् । कतिले पुराना सम्बन्धलाई खोतल्दै  यसलाई व्यूँझाएर उपयोग गर्ने रणनीतिमा लागेका छन् । डेपुटी गभर्नरमा आफ्नो मान्छे ल्याउन राष्ट्र बैंक कर्मचारी युनियनहरू पनि पनि त्यतिनै सक्रिय हुने गरेका छन् । अहिले डेपुटी बनेका दुबै डेपुटी पनि यसरी नै राजनीतिक कोटामा नियुक्त भएका थिए । अहिले दुई तिहाईको सरकार भएकोले भागबण्डा भन्दा पनि अबको डेपुटी नियुक्तिमा शक्ति सामर्थले काम गर्ने देखिएको छ । 

राजनीतिक दवावका साथै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने डेपुटी गभर्नरका लागि गभर्नर महाप्रसाद अधिकारीले चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्नु पर्ने छ । 

प्रतिक्रिया दिनुहोस