aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आठ महीनापछि सवारी लाइसेन्सका लागि आवेदन खुला

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १३ पुस २०७७
आठ महीनापछि सवारी लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं । कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

चीनबाट शुरू भएको कोभिडको महामारी विश्वव्यापी हुँदै नेपालसम्म फैलिन थालेपछि सरकारले गतवर्ष चैत ११ देखि देशव्यापी बन्दाबन्दी गरेको थियो । गत साउनमा बन्दाबन्दी अन्त्य भएपछि लाइसेन्सका लागि आवेदन खोल्ने तयारी विभागले गरे पनि पुनः संक्रमणको जोखिमका कारण तत्काल आवेदन नखोल्ने निर्णय गरेको थियो ।

मंगलवारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूरा गरी पुनः लाइसेन्सको सेवा सुचारु गर्ने निर्णय गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । विभागले प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने तयारी गरेको हो । सेवाग्राहीले अनलाइनमार्पmत फारम भरिसकेपछि मिति तोकेर लिखित तथा ट्रायल परीक्षा गरिने विभागका प्रवक्ता भुसालले बताए ।

विभागले स्मार्ट लाइसेन्स शुरू गरेपछि मागअनुसार छाप्न नसक्दा सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न परीक्षा पास गरेपछि पनि वर्षौं कुर्नुपर्ने बाध्यता थियो ।

ढिलो गरी प्राप्त गरेको स्मार्ट लाइसेन्स प्रिन्टर, मेशिनमा आइरहने समस्या र क्षमताअनुसार छपाइ नहुँदा त्यसबाट सेवाग्राही समस्यामा पर्ने गरेकोमा कोभिडको समयमा बाँकी रहेका स्मार्ट कार्ड छापिएको विभागले जनाएको छ । विभागका अनुसार बन्दाबन्दी हुँदा ८ लाख स्मार्ट कार्ड छाप्नै बाँकी रहेकोमा ती कार्ड छापिसकेर बाँड्न थालिसकिएको छ । अब छाप्न बाँकी कार्ड नरहेकाले अब छापिने कार्डमा ढिलाइ नहुने विभागका प्रवक्ता भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस